किरण सहित १० खेलाडी बाहिर राख्दै राष्ट्रिय टोली घोषणा

काठमाडौँ। नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि  राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन्। शुक्रबार प्रशिक्षक अल्मुताइरीले नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित विद्रोह गरेका १० खेलाडीबिनै २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

एएफसी एसियन कप छनोटको तयारीमा  रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई प्रशिक्षक अल्मुताइरीले पटक पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका १० खेलाडीले वैशाख १३ गते ‘विद्रोह’ गरेका थिए। 

उनीहरुलाई माल्दिभ्सबाट व्यवसायीक फुटबल खेलिरहेका कप्तान किरणले पनि सामाजिक सञ्जालबाट साथ दिएका थिए। प्रशिक्षक अल्मुताइरीले वैशाख १८ गते अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई एक पत्र लेख्दै असन्तुष्ट खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने बताएका थिए।

किरणसहित १० सिनियर खेलाडी टिमबाहिर रहँदा यसपटक चार नयाँ अनुहारले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाए। एसिया कप तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन्। 

नेपालले पहिलो खेल जुन ८ मा जोर्डनविरुद्ध खेल्ने छ। यस्तै, नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ।

नेपाली टिमः

गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ

प्रतिक्रिया