आईपीएल : बैंग्लोरको प्लेअफ पुग्ने सम्भावना कायमै

काठमाडाैं- विराट कोहलीको अर्धशतकीय इनिङ्समा रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा गुजरात टाइटन्सविरुद्ध शानदार जित हात पारेको छ।

बिहीबार राति सम्पन्न खेलमा बैंग्लोरले गुजरातलाई ८ विकेटले हराएको हो। जितसँगै बैंग्लोरले प्लेअफको सम्भावना जीवितै राखेको छ। 

गुजरातले दिएको १६९ रनको मध्यम लक्ष्य बैंग्लोरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। 

बैंग्लोरको जितमा कोहलीले सर्वाधिक ७३ रनको इनिङ्स खेले। उनले ५४ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

यस्तै, कप्तान फाप डु प्लेसिसले ३८ बलमा ५ चौकासहित ४४ रन बनाए। पहिलो विकेटका लागि कोहली र डु प्लेसिसिले ८७ बलमा ११५रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए।

यता, ग्लेन मैक्सवेलले १८ बलमा ५ चौका र २ छक्कासहित ४० रन बनाए। उनी अविजित रहे। दिनेश कार्तिक पनि २ रनमा अविजित रहे।

गुजरातका लागि स्पिनर रशिद खानले ४ ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले कप्तान हार्दिक पान्ड्याको अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। 

गुजरातका कप्तान हार्दिक ४७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित रहे।

डेविड मिलर २५ बलमा ३ छक्कासहित ३४ रनमा आउट भए। यता, ओपनर ऋद्धिमान शाह २२ बलमा ४ चौका र १ छक्का सहित ३१ रनमा आउट भए। म्याथ्यू वेड १६ रनमा आउट हुँदा राशिद खान १९ रनमा अविजित रहे।

बैंग्लोरका जोश हेजलवुडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए। ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगाले १–१ विकेट लिए। 

बैंग्लोरलाई प्लेअफमा पुग्ने समिकरण कायमै राख्न यस खेलमा विशाल जित हात पार्नुपर्ने थियो। तर, यो जितले मात्र बैंग्लोर प्लेअफमा पुग्ने भने छैन।

दिल्ली क्यापिटल्स शनिबार मुम्बई इन्डियन्ससँग पराजित भए बैंग्लोर नेटरनरेटको कारण प्लेअफमा पुग्ने उच्च सम्भावना छ। 

दिल्लीको १३ खेलबाट १४ अंक छ भने बैंग्लोरको १४ खेलबाट १६ अंक रहेको छ। २० अंक जोडेको गुजरात भने शीर्ष स्थानमा रहँदै क्वालिफायर खेल्ने पक्का भएको छ।

प्रतिक्रिया