दुई खेल अगाबै नेपालविरुद्ध टि–२० शृंखला युगान्डालाई 

काठमाडौं। भ्रमणकारी टोली युगान्डाले नेपालविरुद्ध महिला टि–२० शृंखला जितेको छ। बिहीबार तेस्रो टि–२० खेलमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेल अगाबै शृंखलामा कब्जा जमाएको हो।  जितसँगै युगान्डाले ५ खेलको शृंखलामा ३–० को अग्रता बनाएको छ।

नेपालले दिएको १ सय रनको सामान्य लक्ष्यलाई युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। युगान्डाकी केभिन विनोले अविजित सर्वाधिक ४२ रन बनाइन्। उनले ५१ बलमा ४ चौका प्रहार गरिन्।  जेनेट बाबाजीले ३९ बलमा १ चौका र १ छक्कासहित २७ रन जोडिन्। युगान्डाका अन्य खेलाडीले भने दोहोरो अंक बटुल्न सकेनन्।

नेपालका लागि कविता कुँवरले २ विकेट लिइन्। रुविना क्षेत्री र इन्दु वर्माले १–१ विकेट बाँडे। यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाइन्। उनले ५४ बलमा ५ चौका प्रहार गरिन्। उनको टि–२० मा करिअरको उत्कृष्ट हो।

यस्तै, कप्तान रुविना क्षेत्रीले १५ बलमा २ चौकासहित १८ रन बनाइन्। सिता रानामगरले पनि १२ रन बनाइन। अन्यले दोहोरो अंकसमेत छुन सकेनन्। युगान्डाका लागि फिओना कुलुमे, सारा अकिटेंक र कोन्सी एविकोले २–२ विकेट लिए। रिता मुसामालीले १ विकेट हात पारिन्।

पहिलो पटक घरेलु मैदानमा टि–२० शृंखला खेलिरहेको नेपालको यो लगातार तेस्रो हार हो। नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो। यस्तै, दोस्रोमा नेपाल १ विकेटले पराजित भयो। अब नेपालले युगान्डासँग चौथौ खेल शुक्रबार र अन्तिम खेल शनिबार खेल्ने छ।
 

प्रतिक्रिया