फिफाले एन्फालाई भन्यो- प्रतिबन्धित थापालाई फुटबलसँग सम्बन्धित गतिविधिमा संलग्न नगराउनू

काठमाडाैं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्षको प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापालाई फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नदिन निर्देशन दिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई बुधबार लेखेको पत्रमा फिफाका प्रमुख सदस्य संघ अधिकृत केनी जीन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फालाई पूर्व अध्यक्षमाथि लगाइएको प्रतिबन्धको स्मरण गराएको छ।

'जबसम्म प्रतिबन्ध कायम रहन्छ फिफाले एन्फा र यसका सदस्यहरूले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तर (प्रशासनिक, खेलकुद वा अन्य) कुनै पनि प्रकारको फुटबलसम्बन्धी गतिविधिमा संलग्न हुन जानीजानी अनुमति नदिने अपेक्षा गर्दछ,' पत्रमा भनिएको छ।

पत्रमा थापाले फिफाको निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोर्ट गर्ने उल्लेख गरेको छ।

सन् २०१५ मा फिफा एथिक्स कमिटीको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने र लिने, घुसखोरी र भ्रष्टाचार गरेको आरोपमा १० वर्षको प्रतिबन्ध लगाएको थियोे। उनलाई १० वर्षको अवधिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा (प्रशासनिक, खेलकुद वा अन्य) कुनै पनि प्रकारको फुटबल सम्बन्धी गतिविधिमा भाग लिन पनि प्रतिबन्ध लगाइएको थियो।

केही दिन अगाडि थापाले आसन्न एन्फा निर्वाचनमा प्रतिकुल असर पुर्‍याउने उदेश्यले पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा उनले अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूमाथि विभिन्न आरोप लगाएको भन्दै जेठ २ गतेदेखि कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए।

प्रतिक्रिया