५७ वर्षको उमेरमा टि–२० क्रिकेटमा डेब्यु

 काठमाडौं। अंग्रेजीमा एउटा भनाई छ, ‘उमेर मात्र एउटा नम्बर हो।’ यो भनाईलाई क्रिकेट मैदानमा कुनै एक खेलाडीले चरितार्थ गर्दै छन् भने ती हुन्, जिब्राल्टरका क्रिकेट खेलाडी क्रिश्चियन रोक्का। 
जुन उमेरमा खेलाडीहरू ब्याट र प्याड घरमा थन्काएर बुढेसकालको मजा लिन्छन्, उनी त्यो उमेरमा पनि क्रिकेट मैदानमा डटेर लागेका छन्। 

क्रिश्चियन रोक्का ५७ वर्षमा प्रवेश गरिसकेका छन्। उनले हालै ५७ वर्ष ६६ दिनमा पहिलो अन्तर्राष्ट्रिय टि–२० क्रिकेट खेले।  

उनी भारतका महान ब्याट्सम्यान सचिन तेन्दुलकरभन्दा अघिदेखि एकदिवसीय क्रिकेट खेलिरहेका छन्। उनले १९८६ मा पहिलो एकदिवसीय खेलेका थिए। सचिनले १९८९ मा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। सचिनले २०१३ मा क्रिकेटबाट सन्यास लिइसकेका छन् भने क्रिश्चियन बढ्दो उमेरमा पनि आँखामा चश्मा लगाएर क्रिकेट मैदानमा उत्रिने गर्छन।  

आइसीसीका एसोसिएट राष्ट्र बुल्गेरिया र जिब्राल्टरबीच १३ मे, २०२२ मा भएको वेलेटा कपमा क्रिश्चियनले डेब्यु गरेका थिए। उनी टि–२० मा बुढ्यौली उमेरमा डेब्यु गर्ने तेस्रो खेलाडी पनि हुन्। 

टि–२० मा सबैभन्दा पाको उमेरमा डेब्यु गर्ने खेलाडी टर्कीका ओसमान गोकर हुन्। जसले ५९ वर्ष १८१ दिनमा डेब्यु गरेका थिए। दोस्रो नम्बरमा टर्कीकै सेङ्गिज अक्युजको नाम आउछ। अक्युजले ५७ वर्ष ८९ दिनमा डेब्यु गरेका थिए। जिब्राल्टरका रिचर्ड कनिङ्घमले पनि २१ अगस्ट २०२१ मा माल्टविरूद्ध टि–२० मा डेब्यु गर्दा उनको उमेर ५१ वर्ष १९१ दिन थियो। 

प्रतिक्रिया