आईपीएल : दिल्लीसँग पञ्जाव १७ रनले पराजित

काठमाडौं– दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पञ्जाव किंग्सलाई १७ रनले पराजित गरेको छ। यो जितसँगै दिल्ली १४ अंकका साथ चौथो स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन बनायो। पञ्जावका विकेटकिपर जितेश शर्माले सर्वाधिक ४४ रन बनाए। उनले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। राहुल चाहर २४ बलमा २ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे।

ओपनर जोनी बेयरस्टो २८ रनमा आउट भए। शिखर धवन १९, भानुका राजपक्षे ४, लियाम लिभिङस्टोन ३ र मयंक अग्रवाल शून्यमा आउट भए। 

हरप्रीत ब्रार १ र ऋषि धवन ४ रनमा आउट भए दिल्लीका शार्दुल ठाकुरले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए। स्पिनर अक्षर पटेलले र कुलदीप यादवले २/२ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो। दिल्लीका मिचेल मार्शले सर्वाधिक ६३ रन बनाए। उनले ४८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

मार्शबाहेक अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन्। ओपनर शरफराज खान १६ बलमा ५ चौका र १ छक्कासहित ३२ रनमा आउट भए। ललित यादव २४, ऋषभ पन्त ७, रोभम्यान पावेल २ र शार्दुल ठाकुर ३ रनमा आउट भए। अक्षर पटेल १७ रन र कुलदीप यादव २ रनमा अविजित रहे। पञ्जाव किंग्सका अर्शदीप सिंह र लियाम लिभिङस्टोनले ३/३ विकेट लिए।

दिल्लीले अब अन्तिम खेल २१ मे मा मुम्बई इन्डियन्ससँग खेल्नेछ। उक्त खेलमा जित निकाले १६ अंक हुनेछ। दिल्लीसँगै १६ अंकका साथ रोयल च्यालेन्जर्स बेंगलोर पनि प्लेअफमा पुग्ने लक्ष्यमा छ। बेंगलोरले १९ मेमा शीर्षस्थानको गुजरात टाइटन्ससँग खेल्नेछ। उक्त खेलमा बेंगलोर पराजित भएमा र दिल्ली विजयी भएमा सहजै प्लेअफमा पुग्नेछ। अन्यथा नेटरनरेटमा निर्भर रहनुपर्छ।

पञ्जावले अन्तिम खेल २२ मे मा सनराइजर्स हैदराबादसँग खेल्नेछ। पञ्जाव प्ले अफमा पुग्न अन्तिम खेलमा नाटकीय नतिजा आउनुपर्छ। अन्तिम खेलमा दिल्ली, बेंगलोर र कोलकाता भारी अन्तरले पराजित हुँदा र पञ्जावले फराकिलो जित हात पार्न सके १४ अंकका साथ अन्तिम चारमा रहँदै प्लेअफमा पुग्न सक्छ।

प्रतिक्रिया