मोदीको लुम्बिनी भ्रमणको अर्थ

काठमाडौं। बुध्द जयन्तिका दिन लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरको दर्शन गर्न पाएर आफू प्रशन्न भएको प्रतिक्रिया दिएका छन्। शान्तिदूत गौतम बुध्दको जन्मस्थल विश्वप्रशिध्द लुम्बिनीको स्थलगत अवलोकन र दर्शन गरेर प्रधानमन्त्री मोदीले यसअघिका भ्रामक प्रचार खेतीलाई ठोस जवाफ दिएका छन्। 

मोदी आफैंले समेत बुध्द जन्मस्थल सम्बन्धमा असंगत टिप्पणी गरेका थिए। तर उनको यो भ्रमणले बुध्द जन्मस्थलमाथि तथ्यहीन विवाद खडा गरेर रोजीरोटी चलाईरहेका समूहको मुखमा बूजो लगाईदिएको भनेर विभिन्न प्रतिक्रियाहरु आईरहेका छन्। यो भ्रमणले बुध्द जन्मस्थलदेखि बुध्दले ज्ञान प्राप्त गर्न यात्रा गरेका क्षेत्र समेटेर बुध्द सर्किट निर्माण गर्ने नेपाल र भारत सकारको योजनालाई ठूलो बल पुगेको बताईएको छ। 

प्रधानमन्त्री मोदी चुच्चे नक्सा विवादपछि पहिलोपल्ट नेपालको भ्रमणमा आएका हुन्। उनको लुम्बिनी यात्रालाई भारतीय मिडियाले दुई वटा कोणले विश्लेषण गरेका छन्। उनीहरूले मोदीको भ्रमण चीन लक्षित भएको र महाराष्ट्रको आगामी निर्वाचनलाई मध्यनजर राखिएको रूपमा पनि अथ्र्याएका छन्। 

भारतीय अखबारहरूले नेपालको यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन समर्थक र प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत समर्थकको रूपमा चिनाउन खोजेका छन्। गत महिना देउवाको भारत भ्रमणलाई उनीहरूले चीनबाट भारततर्फ नेपाल ढल्किँदै गरेको रूपमा अथ्र्याएका छन्। 

मोदी सोमबार बिहान बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनी आइपुगेका थिए। सन् २०१४ मा भारतको प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पाँचौ नेपाल भ्रमण हो। यसबीच नेपालमा नाकाबन्दी लगाउँदा उनको ठूलो आलोचना भएको थियो भने लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा देखाएपछि मोदीविरूद्ध नेपालमा जनमत तयार बनेको थियो।

भारतसँगको सम्बन्ध बिगार्न नेकपा एमालेका अध्यक्ष केपी ओलीको ठूलो हात रहेको भन्दै भारतीय मिडियाले उनलाई भारत विरोधी तत्वको रूपमा दर्शाउँदै आएका छन्।

चीन सरकारले ऋणको कूचक्रमा पारेर लुम्बिनीमा ३ अर्ब डलरको सहयोगमा ‘विश्व शान्ति केन्द्र’ स्थापना गर्ने प्रयास गरिरहेको भन्दै अखबारहरूले १ अर्ब रुपैयाँमा निर्माण हुने ‘अन्तर्राष्ट्रिय सेन्टर फर बौद्ध कल्चर एण्ड हेरिटेज सेन्टर’ चीनको ‘काउन्टर’ को रूपमा रहेको बताएका छन्। भारतीय प्रधानमन्त्रीले सोमबार नै बौद्ध एण्ड हेरिटेज निर्माणको उद्घाटन गरेका थिए। चीनले लुम्बिनीमा बनाउन खोजेको विश्व शान्ति केन्द्र भारतीय सीमासम्म रेल ल्याउने चिनियाँ चाल भएको भारतको बुझाई छ। 

मोदीको लुम्बिनी भ्रमणले नेपाल–भारतको राजनीतिक सम्बन्ध बलियो हुने र ‘बौद्ध कुटनीति’ मार्फत एसियालाई एक सूत्रमा बाँध्न सजिलो पर्ने बताइएको छ। संसारमा सबैभन्दा धेरै बुद्धमार्गीहरू चीन, नेपाल, भुटान, श्रीलंका र थाइल्याण्डमा बसोबास गर्छन्। भारतले ‘बौद्ध कुटनीति’ मार्फत एसियालाई एकतामा बाँध्न खोजेको भारतीय अखबारहरूको भनाई छ। 

भारतमा सबैभन्दा बढी बौद्धमार्गीहरू महाराष्ट्रमा बसोबास गर्छन्। आउँदो वर्ष यहाँ विधानसभा चुनाव हुँदैछ। राज्यमा अहिले कांग्रेस–एनसिपी र शिवसेनाको गठबन्धन सरकार छ भने भारतीय जनता पार्टी (भाजपा) प्रतिपक्षमा छ। प्रधानमन्त्री मोदी यो यात्रामार्फत धार्मिक कार्ड खेल्न चाहिरहेका छन्। यसअघि भाजपाले हिन्दु कार्ड मात्र प्रयोग गर्दै आइरहेको थियो। लुम्बिनी यात्रापछि महाराष्ट्रमा बौद्धमार्गीमार्फत भाजपासँग जोड्न सहज पर्ने विश्लेषण गरिएको छ। 


 

प्रतिक्रिया