भारतीय प्रधानमन्त्रीको यस्तो छ कार्यव्यस्तता

काठमाडौं। नक्सा विवादपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपल्ट नेपालको भ्रमणमा आउन लागेका छन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो राजनीतिक नक्सामा समावेश गरेर भारतले प्रकाशित गरेपछि बिग्रिएको नेपाल–भारत सम्बन्धका बीच भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्न लागेका हुन्। 

केपी ओलीको सरकार ढलेर शेर बहादुर देउवाको सरकार गठन भएपछि नेपाल–भारत सम्बन्ध सुधारको बाटोमा छ। प्रधानमन्त्री देउवाले गत महिना भारत भ्रमण गरेका थिए। नेपालको हिन्दू मठ मन्दिरको पहिले नै भ्रमण गरिसकेका भारतीय प्रधानमन्त्रीको लुम्बिनीमा आज आगमन हुँदैछ। उनी बिहान पौने ११ बजेसम्म भारतीय राजधानी दिल्लीबाट लुम्बिनी पुगिसक्ने छन्। 

गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनी पुग्ने मोदीको पहिलेदेखिको सपना थियो। उनले पशुपतिनाथ, जनकपुरधाम र मुक्तिनाथ पुगेर विशेष पूजा गरिसकेका छन्। लुम्बिनीमा सबैभन्दा पहिले मोदीले मायादेवी मन्दिरको दर्शन गर्ने र विशेष प्रार्थना सभामा समावेश हुने कार्यक्रम रहेको छ। 

यस बाहेक उनले बुद्ध पूर्णिमाको अवसरमा अशोक स्तम्भको अगाडि दीप प्रज्वलन गर्ने कार्यक्रम छ। उनले बोधि वृक्षमा जल पनि अर्पण गर्ने छन्। यो वृक्ष उनले सन् २०१४ मा नेपाललाई उपहार दिएका थिए। 

भारतीय प्रधानमन्त्री २५६६ औं बुद्ध जयन्ती समारोहमा पनि समावेश हुनेछन्। यहाँ बौद्ध भिक्षु तथा विद्वानहरूको अगाडि मोदीले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ। प्रधानमन्त्री मोदीले लुम्बिनीको यात्रालाई नेपाल–भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक परम्परा तथा पुरानो धार्मिक सम्बन्धलाई प्रगाढ बनाउने रहेको बताइसकेका छन्। 

उनले लुम्बिनीमा इन्डिया इन्टरनेशनल सेन्टर फर बौद्ध कल्चर एण्ड हेरिटेजको आधारशीला राख्ने भारतीय अखबारहरूले बताएका छन्। यो सेन्टरमा बौद्ध परम्पराको अध्ययन गराइने छ। 

दिउँसो नेपाल तथा भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय बैठक हुनेछ। बैठकमा दुवै देशबीच सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सहयोग बढाउने कुरामा चर्चा हुनेछ। प्रधानमन्त्री मोदीको सम्मानमा राजकीय भोजको पनि आयोजना गरिएको छ। जसमा प्रधानमन्त्री देउवा आफ्नो क्याबिनेटका साथ उपस्थित हुनेछन्। 

सन् २०१४ मा मोदी प्रधानमन्त्री नियुक्त भएपछि उनको यो पाँचौ नेपाल भ्रमण हो। 


 

प्रतिक्रिया