शेख मोहम्मद बिन जायद अल नहयान युएईको नयाँ राष्ट्रपति नियुक्त

युएई । शेख मोहम्मद बिन जायद अल नहयान संयुक्त अरब इमिरेट्स (युएई) को नयाँ राष्ट्रपति नियुक्त हुने छन् । खलीज टाइम्सका अनुसार ६१ वर्षीय यी नेता देशको तेस्रो राष्ट्रपति हुन लागेका हुन्। रणनीतिक योजना, प्रशिक्षण र रक्षा क्षमता अभिवृद्धि गर्ने विषयमा उनी सिद्धहस्त मानिन्छन्। युएईमा सशस्त्र बलको विकासमा उनको महत्वपूर्ण भूमिका थियो। 

जायद अल नहयान शेख खलिफाका भाई हुन्। राष्ट्रपति शेख खलिफाको निधनका कारण रिक्त भएको पदमा उनलाई नियुक्त गर्न लागिएको हो। रिपोर्टमा भनिएको छ– युएईको केन्द्रिय उच्च प्रशासनले अबुधाबीका राजकुमार शेख मोहम्मद बिन जायद अल नहयानलाई देशको राष्ट्रपति नियुक्त गरिएको छ । दुबईका शासक शेख मोहम्मदको अध्यक्षतामा अबु धाबीको अल–मुसरिफ प्यालेसमा बैठक भएको थियो, जसले राष्ट्रपति चुन्ने काम गर्यो। दुबईका शाषक तथा युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले उनलाई बधाई दिइसकेका छन्। 

जायद अल नहयान युएईको सैन्य बलको उपप्रमुख हुन्। उनले बेलायतको रोयल मिलिट्री एकेडेमी स्याण्ड्हर्स्टबाट स्नातक गरेका छन्। सन् २००३ मा उनलाई बुवा जायद बिन सुल्तानले अबुधाबीको उपयुवराज घोषित गरेका थिए। बुवाको निधनपछि उनी २००४ देखि युवराज पदमा कार्यरत थिए। 

जायद अल नहयान अबुधाबीको १७ औं अमीर अर्थात् शासक हुनेछन्। युएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नहयानको १३ मेमा निधन भएको थियो। उनको निधनपछि युएई सरकारले ४० दिन राष्ट्रिय शोक घोषित गरेको थियो। ४० दिनसम्म युएईको राष्ट्रिय झण्डा आधा झुक्ने छ। यस्तै, तीन दिन सरकारी तथा निजी कार्यालय बन्द रहनेछन्। 

प्रतिक्रिया