स्वर्ण पदक विजेताको अवशान कथा

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता तथा नेपाली भारत्तोलनको आशाको केन्द्र मानिएकी सञ्जु चौधरीको निधनले नेपाली खेलकुदलाई एकपल्ट फेरि स्तब्ध तुल्याएको छ।

उनी चीनमा आयोजना हुने १९ औं एसियन गेम्सको लागि बन्द सत्रमा थिइन्। प्रशिक्षक सञ्जय महर्जनको ललितपुरस्थित लुभुमा बसेर अभ्यास गरिरहेकी सञ्जु गत मंगलबार झुण्डिएको अवस्थामा कोठामा फेला परेकी थिइन्।

उनको आत्महत्यालाई लिएर भारत्तोलनका बरिष्ठ प्रशिक्षक तथा नेपाल भारत्तोलन संघका उपाध्यक्ष पार्थसारथी सेन गुप्ता (मिठु गुरु) ले दुःख व्यक्त गरेका छन्। सञ्जुसँग उनको अन्तिम भेट आत्महत्या गर्नुभन्दा केही समयअघि राती प्रशिक्षक महर्जनकै घरमा भएको थियो।

उनले दृश्यटिभीसँग दुःख व्यक्त गर्दै भने, ‘उनको निधनले मेरो आत्मविश्वास टुटेको छ। बोल्ने कुनै शब्द छैनन्। उनीबाट हामीले धेरै नै आशा गरेका थियौं।’

सञ्जुले आत्महत्या गरेको राती प्रशिक्षक महर्जनको घरमा नेवारीहरूको जात्रा मनाउन परिवारसहित मिठु गुरु पनि लुबु पुगेका थिए। त्यहाँ रातीको खाना सञ्जुले नै पस्किएर दिएको बताउँदै उनले भने, ‘मलाई छोड्न तलसम्म आएकी थिइ। मैले उसलाई केही गाह्रो अप्ठेरो केही छ कि भनेर सोधेको थिएँ। हाँस्दै केही छैन भनेकी थिइ।’

उनको निधनको खबर बिहान घरको ल्याण्डलाइन फोनमा महर्जनले अतालिएर सुनाउँदा मिठु गुरुले पहिले पत्याएका थिएनन्।

उनले बिहान–बिहानै कसैले मजाक गर्यो होला भनेर सुरुमा रंग नम्बर भनेको बताए। ‘बिहान ६ बजे फोन आयो। श्रीमतीले फोन उठाएकी थिइ। सञ्जुको निधनको खबर मलाई सुनाएपछि कसैले रंग नम्बर डायल गर्यो होला भने,’ उनले भने, ‘तर, सञ्जय गुरुको आवाज सुनेपछि हत्तारिदै घर पुगेको थिएँ। उनको शरीर देखेपछि म खङ्राङखुङ्रुङ भएँ।’ उनीसँग कुरा गर्दा कुनै किसिमको तनाव अनुभव नभएको मिठु गुरुले दृश्यटिभीलाई बताए। ‘मलाई डिप्रेसन जस्तो पनि लागेको थिएन। उ अभ्यासमा रमाइरहेकी थिइ। सबैसँग घुलमिल गरेर बस्ने बानी थियो। निकै अनुशासित। हामी गुरुहरूलाई खुट्टै ढोगेर अभिवादन गर्ने। सञ्जय गुरुले त झन् आफ्नो बच्चा सरह ट्रेनिङमा कुनै किसिमको असुविधा नहोस् भनेर घरमै राख्नु भएको थियो,’ उनले भने।

सञ्जु एसियन गेम्सको तयारीका लागि ४ महिना नेपालगञ्जस्थित आफ्नो घरमा बसेर १०–१२ दिनअघि मात्र काठमाडौं फर्किएकी थिइन्। दक्षिण कोरियामा दुई पल्ट अभ्यासमा सहभागी भइसकेकी र सन् २०२० मा कोरियामा भएको कोरियन एसिया कपमा कास्य पदक जितेकी सञ्जुलाई संघले थप अभ्यासका लागि विदेश पठाउने तयारी गरिरहेको थियो।

‘उ जत्तिको प्रतिभाशाली खेलाडी पाउन निकै गाह्रो छ। यसै त भारत्तोलनमा महिला खेलाडी पाउन मुस्किल छ। त्यसमा पनि सञ्जु जत्तिको प्रतिभा पाउन मुस्किल पर्छ,’ उनले भने।

नेपालमा भएको गत १३ औं सागमा भारत्तोलनमा स्वर्ण जित्दै सञ्जु एकाएक चर्चामा आएकी थिइन्। २२ वर्षीय यी खेलाडीबाट देशले ठूलो आशा राखेको थियो।

 

 

प्रतिक्रिया