स्थानीय निर्वाचन

फेरि चर्चामा फागोको ‘डण्डा’ 

उर्लाबारी। दुई वर्षअघि कोरोनाकालमा ‘डण्डा’ चलाएर चर्चामा आएका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको तर्फबाट चुनाव लड्दै छन्।

कोरोनाकालमा सरकारले लगाएको ‘लक–डाउन’ को नीति उल्लंघन गरेको भन्दै फागोले बाटोमा हिँडेका बटुवामाथि ‘डण्डा’ वर्षाएका थिए। उनको त्यो कार्यशैलीको चर्चा मात्र भएन, ‘अराजक प्रवृत्ति’ भन्दै आलोचना पनि भएको थियो। उनले त्यतिबेला लास उठाउनभन्दा लट्ठी उठाएको स्पष्टीकरण दिएका थिए। 

यही सेरोफेरोका बीच विकासको एजेण्डा बोकेर उनी पुनः मेयर पदमा उठेको दावी गर्छन्।  तर, के उर्लाबारीका जनताले उनलाई पुनः मेयर पदमा पत्याउने छन्? यो चर्चाको विषय बनेको छ।

उनलाई यसपालि नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार बनेका गंगा खरेलले कडा चुनौती दिने स्थानीय बुद्धिजीविहरू बताउँछन्। वडा नम्बर–४ का अध्यक्ष खरेल २०३२ सालदेखि बाम राजनीतिमा सक्रिय छन्। 

तर, एमालेबाट छुट्टिएर अलग्गै पार्टी नेकपा समाजवादी बनाएका माधव नेपाल समूहबाट मेयर पदमा स्थानीय समाजसेवी मान बहादुर श्रेष्ठको ‘इन्ट्री’ ले यहाँको चुनावलाई झन् रोचक बनाएको छ। 

श्रेष्ठ पहिले एमालेको रोजाइ भएको तर उनले पार्टी परिवर्तन गरेपछि खरेललाई चिट्ठा परेको रूपमा यहाँ प्रचार–प्रसार गरिएको छ। श्रेष्ठको समाजवादी पार्टीमा ‘इन्ट्री’ ले फागोलाई चुनाव जित्न सहज भएको केही विश्लेषकहरू दावी पनि गर्छन्। 
 
तर, आफ्नो ‘अराजक छवि’ का कारण फागोलाई चुनाव जित्न धेरै तालमेल गर्नुपर्ने अवस्था छ। प्रदेश नम्बर–१ को सह–महामन्त्री हुँदा फागोले आफ्ना थुप्रै कांग्रेसी सहकर्मीलाई चिढ्याएका थिए। यसको मूल्य चुनावमा बेहोर्नुपर्ने आशंकाका बीच उनलाई पनि चुनाव जित्न सोचे जति सहज देखिदैन। 

सह–महामन्त्री हुँदा उनले रतुवामाई नगरपालिकाका मेयर रवीन राईको टिकट काटेको आरोप लाग्ने गरेको छ। यस्तै, लेटाङका मेयर शंकर राईको नाम काट्न पनि उनको प्रमुख भूमिका रहेको आशंका गर्नेको कमि छैन। यसअघिको चुनावमा लोकप्रिय मत ल्याएर ५ नम्बर वडाको अध्यक्ष निर्वाचित भानु पराजुलीलाई रुष्ट बनाएको आरोप पनि लाग्दै आएको छ। 
 
यहाँका राजनीतिक विश्लेषकहरू गुट विरोधी कांग्रेसलाई हातमा लिने चक्करमा आफ्नो हातमा रहेको कांग्रेसी चिप्लिएको रूपमा फागोको ब्याख्या गर्छन्। 

गत निर्वाचनमा उर्लाबारीमा ३५ हजार २ सय ८८ मत खसेको थियो। जसमा फागो ११ हजार ६ सय ३२ मत ल्याएर विजयी भएका थिए। एमालेका भूपाल जिमी राईले ८ हजार ५ सय ४२  र माओवादी केन्द्रका राजेन्द्रप्रसाद पौडेलले १ हजार ९ सय ७२ मत प्राप्त गरेका थिए। 

यसपालि गठबन्धनबाट चुनाव लडेको हुनाले आफू राम्रो मतसहित जित हासिल गर्नेमा फागो ढुक्क छन्। यो क्षेत्रमा ८ हजार ९ सय २४ नयाँ मतदाता थपिएका छन्। फागोले अघिल्लो ५ वर्षको कार्यकालमा नगरको विकासमा आफूले पुर्याएको योगदानको कदर हुने दावी गरेका छन्।  
 

प्रतिक्रिया