स्थानीय निर्वाचन

ओलीलाई राप्रपामार्फत घेर्दै कांग्रेस र माओवादी 

दमक। राष्ट्रिय राजनीतिमा राजसंस्थाको वकालत गर्ने पार्टीको रूपमा परिचित राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) र राजसंस्थाको नामै सुन्न नरुचाउने नेकपा माओवादी केन्द्रबीच दमक नगरपालिकाको मेयर पदका लागि भएको गठबन्धन अपत्यारिलो मात्र होइन, आश्चर्यजनक पनि मानिएको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला भएका कारण यो बुझ्न गाह्रो छैन, गठबन्धनका सबै पार्टीहरूले दमक नगरपालिकाका लागि राप्रपाका उम्मेदवार राम थापालाई नै किन रोजेरु 

राम थापा आफैं पनि दमकका प्रभावशाली नेता हुन्। २०२७ सालदेखि पञ्चायती राजनीतिबाट सक्रिय उनी यसअघि दमक नगरपालिकाको निर्वाचनमा झिनो मतले दुई पल्ट पराजित नेता हुन्। 

तर, यतिबेला उनको पक्षमा गजबको माहौल देखिएको छ। कांग्रेसको चार तारे झण्डा मात्र होइन, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हतौडा चुनाव चिन्हसहित राप्रपाको हलो चुनाव चिन्ह बोकेर घरघरमा थापाको पक्षमा भोट माग्दै हिँडेका दुई विपरित विचारधारा राख्ने कार्यकर्ताको अग्रसरता यहाँ रोचक देखिन्छ। 

जसरी एमाले चितवनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई जुनसुकै साम, दाम, दण्डभेद लगाएर हराउन चाहन्छ। यसरी नै केपी ओलीको संसदीय क्षेत्रमा गठबन्धनको सरकार नेकपा एमालेको तर्फबाट मेयर पदकी उम्मेदवार गीता भण्डारीलाई पराजित गर्न चाहन्छ। 

राम थापा ४० दशकभन्दा अघिदेखि राष्ट्रिय विद्यार्थी मण्डलमार्फत राजनीतिमा आवद्ध भएका व्यक्ति हुन्। उनले गाउँ पञ्चायतदेखि नगरपञ्चायतसम्म गरी करिब १५ वर्ष स्थानीय निकायमा काम गरिसकेका छन्। उनी २०५१ सालमा दमक नगरपालिकाको मेयरमा पहिलो पल्ट उठेका थिए। त्यतिबेला एमालेका पूर्व मेयर रोम ओलीसँग ७ सयको झिनो मतले पराजित भएका थिए। गणतन्त्र स्थापनापछि गत स्थानीय निकायको चुनावमा पनि उनी रोमसँगै करिब ३ हजार मतले पराजित भएका थिए। 

मेयरका लागि उनको यो तेस्रो प्रयास हो। अहिले कांग्रेस, कम्युनिस्टलगायत सबै आफ्नो पक्षमा भएको हुँदा चुनाव मजाले जित्ने बताउँछन्, उनी। दृश्यटिभीसँगको अन्तर्वार्तामा थापाले भने, माहौल उत्साहजनक छ। गठबन्धनले नै मलाई सघाउने भएपछि राम्रो मार्जिनले जित्छु होला।

पञ्चायतको लामो राजनीति गरेका कारण उनलाई मन्त्रीदेखि विभिन्न आकर्षक पदको अफर नभएको होइन। तर, थापा आफ्नो गाउँ ठाउँमै रमाएर बसे। व्यवस्था परिवर्तनको विपक्षीधारमा उभिए पनि उनको सरल र स्थानीयस्तरमा काम गर्ने शैली मनपराएर उम्मेदवार बनाइएको कांग्रेस र माओवादी कित्ताका कार्यकर्ता बताउँछन्। 

यो क्षेत्रमा उपमेयरका लागि गठबन्धनले नेपाली कांग्रेसकी रेगीना भट्टराईलाई उम्मेदवार चयन गरेको छ। तर, लाइमलाइट मा उनै राम थापा छन्। राजनीतिमा मेरो समर्पण देखेर नै सबैले मलाई पत्याएका हुन्। फेरि स्थानीयस्तरमा सहकार्य गर्न पार्टीले सहज बनाएको हुँदा यो सम्भव भयो, थापाले दृश्यटिभीसँग भने। 

उनी आफूले राजनीतिलाई कहिल्यै व्यवसाय नबनाएको, बरु जनताको सुख दुःखमा हिँडेका कारण अन्य पार्टीले पनि मूल्यांकन गरेको बताउँछन्। मलाई राष्ट्रिय राजनीतिमा जम्नुभन्दा पनि स्थानीयस्तरमै जनताको सेवा गरेर मर्ने रहर थियो। त्यो अब पुरा हुन्छ कि जस्तो लागेको छ, ६५ वर्षको यी अनुभवी राजनीतिज्ञले भने। 

राजनीतिमा प्रतिस्पर्धा भएपनि व्यवहारीक जीवनमा कसैलाई पनि कुन पार्टी, तेरो र मेरो नभनि सेवा गरेका कारण आज सबैले पत्याएको बताउँछन्। वास्तवमा व्यवहारिक जीवन नै ठूलो पाठशाला रहेछ, उनले बताए। 

राम थापालाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी पार्टीले मात्र होइन, महन्थ ठाकुरको जसपाले पनि समर्थन गरेको छ। यहाँ जसपाको पनि एक हजार, पन्त्र सय मत रहेको स्थानीयवासी बताउँछन्। 

प्रतिक्रिया