आईपीएल : लखनऊ शीर्ष स्थानमा

काठमाडौं– लखनऊ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनऊ शीर्ष स्थानमा उक्लिएको हो। 

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १४.३ ओभरमा १ सय १ रनमा अल आउट भयो। कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४५ रनको इनिङ्स खेले। उनले १९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।

सुनिल नारायणले १२ बलमा ३ चौका र १ छक्कासहित २२ रन बनाए। आरोन फिन्च १४ रनमा आउट भए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। कोलकाताका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लखनऊका आवेश खान र जेसन होल्डरले ३ विकेट लिए। मोहसिन खान, दुश्मन्था चामिरा र रवि विश्रोईले १-१ विकेट लिए।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो। ओपनर क्विन्टन डि कक सर्वाधिक ५० रनमा आउट भए। उनले २९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

दीपक हुडाले २७ बलमा ४ चौका र २ छक्कासहित ४१ रन जोडे। मार्कस स्टोइनिसले १४ बलमा १ चौका र ३ छक्कासहित २८ रन बनाए।

क्रुनाल पान्डे २५, आयुष बदोनी १५ र जेसन होल्डरले १३ रन बनाए।कोलकाताका आन्द्र रसेलले २ विकेट लिए। टिम साउथी, शिवम माभी र सुनिल नारायणले १–१ विकेट लिए।

जितसँगै लखनऊले ११ खेलमा १६ अंक जोडेको छ। कोलकाता ११ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ।

लखनऊले अब तीन खेल खेल्न बाँकी छ। एक खेलमा विजयी भए पनि प्लेअफमा पुग्नेछ। 

कोलकाताको भने अघिल्लो चरणको सम्भावना अंकगणीतिय मात्र बाँकी छ। कोलकाताले पनि अब तीन खेल खेल्न बाँकी छ। तीन खेलमा विजयी हुँदा १४ अंक हुनेछ। त्यसको लागि अन्य टोलीको नतिजा आफू अनुकुल आउनुपर्छ। 

प्रतिक्रिया