गुजरातमाथि मुम्बईको ५ रनको नाटकीय जित

काठमाडौं– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्समाथि ५ रनको नाटकीय जित हात पारेको छ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो।

गुजरातलाई जितको लागि अन्तिम ६ बलमा ९ रन चाहिएको थियो। तर, तीव्र गतिका बलर ड्यानियल साम्सले ३ रन मात्र खर्चेपछि मुम्बईले नाटकीय जित हात पारेको हो।

गुजरातका ओपनर ऋद्धिमान शाहले सर्वाधिक ५५ रन बनाए। उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र २ छक्कासहित ५२ रनमा आउट भए।

पहिलो विकेटका लागि गिल र शाहले १२.१ ओभरमा १ सय ६ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। 

डेभिड मिलर १४ बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहे। यता, हार्दिक पान्ड्याले १४ बलमा ४ चौकासहित २४ बनाए। शाई सुदर्शन १४ रनमा आउट भए।  

मुम्बईका स्पिनर मुरुगन आश्विनले २ विकेट लिए। किरोन पोलार्डको नाममा १ विकेट रह्यो।

त्यसअघि ब्रेबोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो। 

मुम्बईका ओपनर ईशान किशनले सर्वाधिक ४५ रन बनाए। उनले २९ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

यता, टिम डेविडले अविजित रहँदै २१ बलमा २ चौका र ४ छक्कासहित ४४ रनको इनिङ्स खेले। कप्तान रोहित शर्मा २८ बलमा ५ चौका र २ छक्कासहित ४३ रनमा आउट भए।

ईशान र रोहितले पहिलो विकेटका लागि ७.३ ओभरमा ७४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। तिलक वर्मा २१ तथा सूर्यकुमार यादव १३ रनमा आउट भए।

गुजरातका स्पिनर राशिद खानले २ विकेट लिए। अल्जारी जोशेफ र प्रदीप सांगवानले १–१ विकेट लिए।

गुजरात ११ खेलमा ८ जित र ३ हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा छ। मुम्बई १० खेलमा २ जित र ८ हारसहित पुछारमा छ।

प्रतिक्रिया