आईपीएल : बैंग्लोरको प्लेअफको सम्भावना बलियो

काठमाडौं– रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफको सम्भावना बलियो बनाएको छ।

बुधबार राति सम्पन्न खेलमा चार पटकको विजेता चेन्नई सुपर किंगलाई १३ रनले पराजित गर्दै बैंग्लोरले प्लेअफको सम्भावना बलियो बनाएको हो।

बैंग्लोरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो।

चेन्नईका ओपनर डेभोन कोन्वेले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यता, मोईन अली २७ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए। 

ओपनर ऋतुराज गायकवाडले २३ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए। चेन्नईका अन्य ब्याटरले भने सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्।

बैंग्लोरका हर्षल पटेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। ग्लेन म्याक्सवेलले २ तथा शहबाज अहमद, जोश हेजलवुड र वानिन्दु हसरंगाले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो। बैंगलोरका लागि महिपाल लोमरोरले ४२ रन बनाए। उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

यता, डु प्लेसिसले २२ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए। बिराट कोहलीले ३३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए।

दिनेश कार्तिकले २६ रन जोड्दा रजत पटीदारले २१ रन बनाए।

चेन्नईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। मोईन अलीले २ लिँदा ड्वेन प्रिटोरियसको नाममा १ विकेट रह्यो। 

जितसँगै बैंग्लोर ११ खेलमा १२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ। चेन्नई १० खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ।

प्रतिक्रिया