लिभरपुल च्याम्पियन्स लिगको उपाधिनजिक

काठमाडौं– इङलिस क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिगको उपाधिनजिक पुगेको छ।  

लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको स्पेनिस क्लब भिल्ला रियलमाथि ३–२ को जित निकाल्दै लिभरपुल फाइनलमा प्रवेश गरेको हो। 

लिभरपुलले पहिलो लेगमा घरेलु मैदानमा २-० को जित दर्ता गरेको थियो। लिभरपुललाई जित दिलाउन फाबिन्हो, लुइस डियास र साडियो मानेले एक एक गोल गरे। यता,भिल्लाका लागि बोउलाए डीया र फ्रान्सिस कोक्विनलिनले गोल गरे।

खेलको तेस्रो मिनेटमा डीयाले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए। ४१औं मिनेटमा फ्रान्सिस कोक्विनलिनले गोल गर्दै भिल्लालाई २–० को अग्रता दिलाए।

पहिलो हाफ २ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको ६२औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २–१ को स्थितिमा ल्याए।

६७औं मिनेटमा डियासले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। त्यसपछि ७४औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–२ को स्थितिमा ल्याए।

८५औं मिनेटमा भिल्ला १० खेलाडीमा सिमित भयो। उसका इट्टिनेले रातो कार्ड पाए। बाँकी समय दुवै टोलीबाट थप गोल हुन सकेन र लिभरपुल समग्रमा ५–२ को जित निकाल्दै उपाधिनजिक पुग्यो।

अब उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया