नेपाल र जिम्बावे ‘ए’बीचको तेस्रो टी२० खेल बुधबार

काठमाडौं– घरेलु टोली नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’बीचको तेस्रो टी२० खेल आज बुधबार हुँदैछ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावेबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।

आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो। जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ।

नेपाल र जिम्बावेबीचको दोस्रो टी२० खेल भने वर्षाको कारण रद्द भएको थियो। टस हारेर पहिला ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा ४८–२ को अवस्थामा भारी वर्षाको कारण खेल स्थगित भएको थियो। 

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले यहाँबाट सिक्ने भन्दापनि अब अर्को स्तरमा कसरी पुग्ने भन्ने सोच रहेको बताए। 

‘सिरिज जोगाउन कुनै दबाब छैन। एउटा खेल थियो। खेल पानीको कारण रद्ध भएपछि पक्कैपनि हामी सिरिज जित्न त सक्दैनौं। बुधबार हामी राम्रो प्लानको साथ आउने छौं। हामीले केहि सुधार गर्न सक्छौं। जिम्बावेको टोलीले पनि राम्रो खेलेको हो’, सोमबार वर्षाको कारण खेल रद्ध भएपछि सन्दीपले भनेका थिए।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावेसँग सिरिज खेलिरहेको हो।

टी२० सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। 

प्रतिक्रिया