आईपीएल : पन्जाबसँग गुजरात पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पराजित भएको छ। मंगलबार राति मुम्बईमा सम्पन्न खेलमा पन्जाब किङ्सले गुजरातलाई ८ विकेटले हराएको हो।

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। पन्जाबका लागि शिखर धवनले अविजित ६२ रन बनाए भने भानुका राजपाक्षेले ४० रन जोडे।

लियाम लिभिङस्टोन ३० रनमा अविजित रहँदा जोनी बेयर्सटो १ रनमा आउट भए। गुजरातका मोहमद शामी र लक्की फर्गुसनले १/१ विकेट लिए।

यसअघि डीवाई पाटिल स्पोर्स्ट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो।

गुजरातका साई सुदर्शनले अविजित ६५ रन बनाए भने  रिद्दिमान शाहले २१ रनमा आउट भए। डेभिड मिलर र राहुल टेवाटियाले समान ११ रन जोड्दा अन्यले सम्झनलायक प्रदर्शन गरेनन्। पन्जाबका कागिसो राबडाले ४ विकेट लिए।

जितसँगै १० खेलमा १० अंक जोडेको पन्जाब छैटौं स्थानमा उक्लिएको छ। समान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको गुजरातको यो दोस्रो हार हो।

प्रतिक्रिया