सिरी ‘ए’ : युभेन्टस्‌ र मिलानको जित

काठमाडौं– इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टस्‌ले जित निकालेको छ।

आइतबार राति सम्पन्न खेलमा युभेन्टस्‌ले भेनेजियालाई २–१ गोल अन्तरले पराजित गरेको हो। युभेन्टस्‌को जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे।

खेलको सातौं मिनेटमा बोनुचीले गोल गर्दै युभेन्टस्‌लाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ७१ औं मिनेटमा माटिया अरामुले गोल गर्दै भेनेजियालाई बराबरीमा ल्याए।

७६ औं मिनेटमा बोनुचीले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टस्‌लाई २–१ को जित दिलाए।

जितसँगै चौथो स्थानमा रहेको युभेन्टस्‌ले ३५ खेलमा ६९ अंक जोडेको छ। भेनेजिया २२ अंक जोडेर पुछारमा रहेको छ।

आइतबार राति नै सम्पन्न अर्को खेलमा इन्टर मिलानले उडीनेजेलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

खेलको १२औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए।

३९औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ७२औं मिनेटमा पुसेट्टोले गोल गर्दै उडीनेजेलाई २–१ मा ल्याए। बाँकी समय दुवै टोलीमा थप गोल हुन सकेन।

जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले ३५ खेलमा ७५ अंक जोडेको छ। उडीनेजे ४३ अंक जोडेर १२औं स्थानमा रहेको छ।
 

प्रतिक्रिया