आईपीएल : चेन्नईको तेस्रो जित

काठमाडौं– ओपनर ऋतुराज गायकवाडको सानदार प्रदर्शनमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा तेस्रो जित निकालेको छ।

आइतबार राति सम्पन्न खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो। 

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो।

हैदरावादका लागि निकोलस पूरनले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए। उनले २७ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

यता, कप्तान केन विलियम्सनले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा २ चौका र २ छक्का प्रहार गरे।

अभिषेक शर्मा २४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३९ रनमा समेटिए। एडेन मारक्रमले १७ रन बनाउँदा हैदरावादका अन्य ब्याटरले भने उत्कृष्ट ब्याटिङ गर्न सकेनन्। 

चेन्नईका मुकेश चौधरीले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चिए। 

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २ रन बनायो। 

चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ९९ रनको योगदान दिए। उनले ५७ बलमा ६ चौका र ६ छक्का प्रहार गरे।

उनी तीव्र गतिका बलर टि नटराजनको १८औं ओभरको पाँचौं बलम ब्याकवाड प्वाइन्टमा भुवनेश्वर कुमारबाट क्याच हुँदा शतक बनाउनबाट १ रनले चुके। 

यता, डेभन कन्वे ५५ बलमा ८ चौका र ५ छक्कासहित ८५ रनमा अविजित रहे। कप्तान महेन्द्र सिंह धोनी ८ रनमा आउट भए। हैदरावादका टी नटराजनले २ विकेट लिए।

जितसँगै चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ। चेन्नई नवौं स्थानमा रहेको छ। हैदरावाद ९ खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ।

प्रतिक्रिया