नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं– घरेलु टोली नेपालले आइतबार भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो टी२० सिरिज अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो।

खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ। यसअघि यी दुई टोलीबीच तीन एकदिवसीय सिरिज पहिले हुने तय थियो। तर, टियु मैदानमा शनिबार बिहानदेखि निरन्तर वर्षा हुँदा ९:३० बाट सुरु हुने भनिएको खेल टससमेत नभइ स्थगित भएको थियो।

खेल स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले तालिका परिमार्जन गरिएको हो। क्यानका अनुसार आइतबारदेखि टी२० खेल हुने छ। तीन खेलको टी२० सिरिजपछि तीन एकदिवसीय खेल हुनेछ।

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप जिम्बावे ‘ए’सँग सिरिज खेल्न लागेको हो।

टी२० सिरिजका लागि शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ। नेपालले टी२० टोलीमा युवा खेलाडीलाई मौका दिएको छ। पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका बायाँ हाते स्पिन अलराउन्डर बसिर अहमद टोलीमा छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले जिम्बाबे ‘ए’ सँगको सिरिज ब्याटिङ सुधारमा केन्द्रित रहने बताएका छन्।

‘आसन्न सिरिज लागि टिम सेट गर्न यू–१९ का खेलाडीहरु पनि समावेश गरेका छौं। यो सिरिज नयाँ अनुभवसमेत हो। लिग २ अघि हामीयुवा खेलाडीलाई एक्स्पोजर बढाएर स्तरीय क्रिकेट खेल्न चाहन्छौं,’ सिरिज अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक दासानायकेले भने।

नेपाल पहिलो खेलमै जिम्बावेलाई हराउँदै सिरिजका सुखद् सुरुआत गर्ने योजनामा रहेको छ। तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन।

जिम्बाबे टोलीका प्रमुख प्रशिक्षक डगलास होण्डोले आफूसँग कम अनुभवी र युवा खेलाडी भएको बताउँदै नेपालसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा रहेको बताएका छन्।

‘हामीले केहि क्षेत्रीय खेल खेलेर यहाँ आएका छौं। हाम्रा खेलाडीका लागि यो चुनौतीपूर्ण अवसर हुनेछ। दुवै टोलीका लागि यो खेल प्रतिस्पर्धात्मक हुनेछ,’ उनले भने।

नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो। त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो।

प्रतिक्रिया