जिम्बावे ‘ए’सँगको पहिलो एकदिवसीय खेल : टियुमा वर्षा जारी, टस हुन सकेन

काठमाडौं । घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीच पहिलो एकदिवसीय खेल वर्षाको कारण प्रभावित बनेको छ। 

खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९:३० सुरु हुने तय थियो। तर, आउटफिल्ड भिजेपछि ९ बजे हुनुपर्ने टस अझै भएको छैन। कीर्तिपुर क्षेत्रमा शुक्रबार बेलुकादेखि नै वर्षा भइरहेको छ। 

टियु मैदानमा दुवै टोलीका खेलाडी आइसकेका छन्। वर्षा नरोकिएपछि दुवै टोलीका खेलाडीहरु पेभेलिएन बक्समा बसिरहेका छन्। समयमै वर्षा रोकिए खेल ओभर घटाएर हुनेछ।

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप जिम्बावे ‘ए’सँग सिरिज खेल्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ‘ए’ सँगको एकदिवसीय सिरिजका लागि शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो।

टोलीमा सुसन भारी, विनोद भण्डारी, सुनिल धमला र किशोर महतोले पुनरागमन गरेका छन्। यस्तै, युवा अलराउन्डर आदिल अन्सारी पहिलो पटक एकदिवसीय टोलीमा परेका छन्। यसअघि उनी टी२० टिममा थिए।

प्रतिक्रिया