घरेलु टोली नेपालले जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं- घरेलु टोली नेपालले शनिबार भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो एकदिवसीय सिरिज अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो।

खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९:३० सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ‘ए’ सँगको एकदिवसीय सिरिजका लागि शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

टोलीमा सुसन भारी, विनोद भण्डारी, सुनिल धमला र किशोर महतोले पुनरागमन गरेका छन्। यस्तै, युवा अलराउन्डर आदिल अन्सारी पहिलो पटक एकदिवसीय टोलीमा परेका छन्। यसअघि उनी टी२० टिममा थिए।

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले जिम्बाबे ‘ए’ सँगको सिरिज ब्याटिङ सुधारमा केन्द्रित रहने बताएका छन्।

‘आसन्न सिरिज लागि टिम सेट गर्न यू–१९ का खेलाडीहरु पनि समावेश गरेका छौं। यो सिरिज नयाँ अनुभवसमेत हो। लिग २ अघि हामीयुवा खेलाडीलाई एक्स्पोजर बढाएर स्तरीय क्रिकेट खेल्न चाहन्छौं,’ शनिबारदेखि सुरु हुने सिरिज अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक दासानायकेले भने।

नेपाल पहिलो खेलमै जिम्बावेलाई हराउँदै सिरिजका सुखद् सुरुआत गर्ने योजनामा रहेको छ। तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन।

जिम्बाबे टोलीका प्रमुख प्रशिक्षक डगलास होण्डोले आफूसँग कम अनुभवी र युवा खेलाडी भएको बताउँदै नेपालसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा रहेको बताएका छन्।

‘हामीले केहि क्षेत्रीय खेल खेलेर यहाँ आएका छौं। हाम्रा खेलाडीका लागि यो चुनौतीपूर्ण अवसर हुनेछ। दुवै टोलीका लागि यो खेल प्रतिस्पर्धात्मक हुनेछ,’ उनले भने।

नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो। त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो।

आयोजक नेपालले भ्रमणकारी टोली जिम्बाब्वे ‘ए’सँग तीन एकदिवसीय र तीन टी२० सिरिज खेल्नेछ। एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ। एकदिवसीयपछि नेपालले टी२० सिरिज खेल्नेछ। टी२० सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ।

प्रतिक्रिया