दीप र सलोनी च्याम्पियन

काठमाडौं । प्रदीप खड्का र सलोनी तामाङको जोडी आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् ।

प्रदीप र सलोनीको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७–६ र ६–३ को सोझो सेटमा पराजित गरे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाहीले रोहित सुनुवारलाई ६–३ र ६–४ को सीधा सेटमा हराउदै पहिलो भए । ५५ वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपले सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई फाइनलमा ७–५, १–६ र १०–६ ले पाखा लगाउदै शीर्ष स्थानमा रहे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्काले प्रणव मानन्धरलाई ७–५ र ६–३ तथा प्रणव खनालले सन्तोष खत्रीलाई ६–१ र ६–२ ले पन्छ्याउदै फाइनलमा पुगे । महिला सिंगल्समा सलोनी तामाङले सर्वानी श्रेष्ठलाई ६–१ र ६–४ तथा अभिलाषा विष्टले इशाश्री शाहलाई ६–२ र ६–४ को सेटमा निराश पार्दै स्वर्ण भिडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले दावा शेर्पालाई ६–३, ४–६ र १०–४ तथा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–२ र ६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।

६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले विदुर विष्टलाई ४–२ र ४–१ तथा दीपक श्रेष्ठले भरत रायमाझीलाई ४–१ र ४–१ ले हराउदै फाइनलमा स्थान पक्का गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले प्रदीपबहादुर शाहलाई ६–२ र ६–२ तथा निरञ्जनकुमार श्रेष्ठले ध्रुवबहादुर गुरुङलाई ६–४ र ६–१ को सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडीले राजु क्षेत्री र हेमराज ढकालको जोडीलाई ६–३ र ६–१ यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीले शिवप्रसाद सेढाईं र विभु कायश्थको जोडीलाई ६–१ र ६–३ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाए ।

३५ वर्षमाथि पुरुष डबल्समा कमल भण्डारी र सुमित मैनालीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ७–५, ५–७ र १०–७ तथा दावा शेर्पा र जितेन्द्र परियारको जोडीले अनिल साइ र समिर शेरचनको जोडीलाई ६–३ र ६–१ को सेटमा हराउँदै फाइनलमा पुगे ।


 

प्रतिक्रिया