जिम्बाबे ‘ए’ सँगको सिरिज ब्याटिङ सुधार र युवाका लागि अवसर : प्रशिक्षक दासानायके

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले जिम्बाबे ‘ए’ सँगको सिरिज ब्याटिङ सुधारमा केन्द्रित रहने बताएका छन्।

नेपाल घरेलु मैदानमा जिम्बाबेको ‘ए’ सँग शनिबारदेखि तीन एकदिवशीय र त्यसपछि तीन टी२० सिरिज खेल्दै छ। 

शनिबारदेखि सुरु हुने सिरिज अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक दासानायकेले यो सिरिज युवाका लागि अवसर भएको र ब्याटिङ सुधारमा केन्द्रित रहने बताएका हुन्।

‘आसन्न सिरिज लागि टिम सेट गर्न यू–१९ का खेलाडीहरु पनि समावेश गरेका छौं। यो सिरिज नयाँ अनुभवसमेत हो। लिग २ अघि हामीयुवा खेलाडीलाई एक्स्पोजर बढाएर स्तरीय क्रिकेट खेल्न चाहन्छौं,’ उनले भने।

नेपालले आगामी जुनमा आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज खेल्दै छ। यसैको तयारीका लागि नेपालले जिम्बाबे ‘ए’ सिरिज खेल्न लागेको हो।

यता, कप्तान सन्दीप लामिछानेले जिम्बाबे ‘ए’सँगको सिरिज टिम तयार गर्नको लागि खेल्न लागेको बताए। ‘जिम्बाबेसँग खेल्न हामी तयार छौं। यो सिरिज प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छौं। यसअघि पपुवा न्युगिनी र मलेसियासँगको हामीले धेरै प्रयोग गरेका थियौं। अब टिम तयार गर्न केन्द्रित हुनेछौं,’ उनले भने।

यता, जिम्बाबे टोलीका प्रमुख प्रशिक्षक डगलास होण्डोले आफूसँग कम अनुभवी र युवा खेलाडी भएको बताउँदै नेपालसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा रहेको बताए।

‘हामीले केहि क्षेत्रीय खेल खेलेर यहाँ आएका छौं। हाम्रा खेलाडीका लागि यो चुनौतीपूर्ण अवसर हुनेछ,’ उनले भने।

नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ‘ए’ सँगको एकदिवसीय सिरिजका लागि शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा सुसन भारी, विनोद भण्डारी, सुनिल धमला र किशोर महतोले पुनरागमन गरेका छन्। 

यस्तै, युवा अलराउन्डर आदिल अन्सारी पहिलो पटक एकदिवसीय टोलीमा परेका छन्। यसअघि उनी टी२० टिममा थिए।

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम शोव, किशोर महतो, सुनील धमला, सुसनी भारी, आदिल अन्सारी

प्रतिक्रिया