आईपीएल : दिल्लीको ४ विकेटको जित

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ। 

जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। दिल्लीको जितमा ओपनर डेविड वार्नरले सर्वाधिक ४२ रन बनाए। उनले  २६ बलमा ८ चौका प्रहार गरे। यता, रोभम्यान पावेलले १६ बलमा १ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे।

तल्लोक्रमका अक्षर पटेल १७ बलमा २ चौका र १ छक्कासहित २४ रनमा रन आउट भए। यता, ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे।

कोलकाताका उमेश यादवले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। सुनिल नारायण र हर्षित रानाले १–१ विकेट लिए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। कोलकाताका नितिश राणाले सर्वाधिक ५७ रन बनाए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

कप्तान श्रेयस ऐर ३७ बलमा ४ चौकासहित ४२ रनमा आउट भए। यता, रिन्कु सिहले १६ बलमा ३ चौकासहित २३ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

मुम्बईका स्पिनर कुलदीप यादवले ३ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए। मुश्ताफिजुर रहमानले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। चेतन सकारिया र अक्षर पटेलले १–१ विकेट लिए। 

दिल्ली चौथो जितका साथ अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ। दिल्लीले ८ खेलमा ८ अंक जोडेको छ।  यता, कोलकाताको जारी आईपीएलमा लगातार पाँच हार हो। 

आठौं स्थानमा रहेको कोलकाताले ९ खेलमा ६ अंक जोडेको छ। कोलकताको प्लेअफ सम्भावना कठिन बनेको छ।

प्रतिक्रिया