आईपीएल : हैदराबादमाथि गुजरातको रोमाञ्चक जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को गइराति सम्पन्न खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ। योसँगै सातौं जितका साथ गुजरात टाइटन्स प्लेअफ नजिक पुगेको छ।

जितको लागि १ सय ९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। गुजरातका ऋद्धिमान शाहले ३८ बलमा सर्वाधिक ६८ रन बनाए। गुजरातलाई  जितका लागि अन्तिम ओभरमा २२ रन चाहिएको थियो। अन्तिम बलमा राशिद खानले मार्को यानसनलाई छक्का प्रहार गर्दै जित पक्का गराए।

राहुल टेवाटियाले २१ बलमा अविजित ४० रन बनाए। ११ बल खेलेका राशिद खानले अविजित ३१ रन जोडे। हैदराबादका उमरान मलिकले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो। हैदराबादका ओपनर अभिषेक शर्माले ४२ सर्वाधिक ६५ रन बनाए भने एडेन माक्ररमले ४० बलमा ५६ रन जोडे।

गुजरातका मोहम्मद शामीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए। यश दयाल र अल्जारी जोशेफले समान १–१ विकेट लिए। हैदराबादले अब आइतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ भने गुजरातले शनिबार रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ। 
 

प्रतिक्रिया