राष्ट्रिय टोली छाडेर जाने एक दर्जन खेलाडीलाई प्रशिक्षक अल्मुताइरीले नराख्ने सम्भावना !

काठमाडौं– बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दसहित एक दर्जन खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध ‘विद्रोह’ गरेका छन्।

मुख्य प्रशिक्षक अल्मुताइरीले चन्दलाई दुर्व्यवहार गरेको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठर विमल घर्तीमगरलगायतका खेलाडीहरूले विद्रोह गरेका हुन्।

उनीहरू मंगलबार बेलुका होटलबाट बाहिरिएको बन्द प्रशिक्षणमा सहभागी एक खेलाडीले दृश्य टिभीलाई बताए। नेपाली टोली त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको बिजनेस होटलमा बसेको छ।

‘एक दर्जनभन्दा बढी खेलाडी होटेलबाट बाहिएका छन्,’ ती खेलाडीले भने, ‘उनीहरूले राष्ट्रिय टिमको फेसबुकको ग्रुप पनि छाडेका छन्।’

कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि नेपाली टोलीले वैशाख २ गतेबाट प्रशिक्षण सुरु गरेको थियो।

प्रशिक्षण सुरु गरेकै दिन मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो टिम चीनमा हुने एसियन कपका लागि छनोट हुन नसक्ने बताउँदै आएका थिए। 

छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारमा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो।

आफूविरुद्ध विद्रोह गर्ने खेलाडीलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुशासनको कारबाही गर्न प्रकृया अगाडि बढाएका छन्। 

‘खेलाडी र प्रशिक्षकबीच के भयो भन्ने कुरा एन्फाले छानबिन गर्ने हो। तर, बिना जानकारी होटेलबाट बाहिएकामाथि अनुशासनको कारबाही गर्ने तयारी गरेका छौं,’ एन्फाका एक पदाधिकारीले भने।

टोली नै रितिने गरि खेलाडीले प्रशिक्षक अल्मुताइरीविरुद्ध विद्रोह गरेपछि नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाइएको उनले जानकारी दिए। 

‘ए डिभिजन लिगलगायत मुख्य प्रतियोगितामा खेलेका खेलाडीहरुको भिडियो अध्ययन हुँदैछ। त्यही अनुसार पुराना खेलाडीको सट्टा नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाउने तयारी भइरहेको छ। होटलबाट बाहिनेहरु अब टोलीमा नसमेटिने लगभग पक्का छ,’ उनले भने।

प्रतिक्रिया