च्याम्पियन्स लिग : रियलमाथि सिटीको जित

काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हात पारेको छ।

मंगलबार राति सम्पन्न खेलमा सिटीले स्पेनिस क्लब रियल मड्रिडलाई ४–३ गोलअन्तरले हराएको हो। सिटीको जितमा केभिन डी ब्रुयना, ग्राबियल जेसस, फिल फोडेन र ब्रनान्डो सिल्भाले एक/एक गोल गरे।

यता, रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे। त्यस्तै, भिनिसियस जुनियरले एक गोल गरे। 

डी ब्रुयनाले खेलको दोस्रो मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै, ११औं मिनेटमा जेससले गोल गर्दै अग्रता दोब्बर बनाए।

३३औं मिनेटमा रियका लागि बेन्जिमाले गोल गर्दै खेल २–१ गोलको अवस्थामा ल्याए। पहिलो हाफ ३ गोल भएको खेलमा दोस्रो हाफमा थप ४ गोल भयो। 

५३औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता ३–१ को बनाए। त्यसको दुई मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई ३–२ को स्थितिमा फर्काए।

७४औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४–२ गोलको अग्रता दिलाए। ​८२औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई ४–३ मा ल्याए। 

बाँकी समयमा दुवैबाट थप गोल हुन सकेन र पहिलो लेगमा सिटीले ४–३ गोलको अग्रता लियो। अब सिटी र रियलबीचको दोस्रो लेग मे ५ मा हुनेछ।

प्रतिक्रिया