चर्चामा राजनीतिक महानगर

अमृत र भीम रोक्नसक्ने को हुन् नागेश कोइराला?

काठमाडौं। राजनीतिक रूपमा काठमाडौंपछि विराटनगरले ठूलो महत्व राख्ने गरेको छ। राणा शासनको अन्त्यका लागि २००७ सालमा भएको आन्दोलन होस् वा २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, यी सबैमा विराटनगरको अग्रणी भूमिका थियो। 

नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको बिउ नै यहाँबाट उत्पत्ति भएको थियो भन्दा अत्युक्ति नहोला। २०६२–६३ सालको गणतान्त्रिक आन्दोलनमा पनि विराटनगरको भूमिका सशक्त थियो। विराटनगरबाट देशले मातृकाप्रसाद कोइराला, विपी कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी सहित ५ जना प्रधानमन्त्री दिइसकेको छ। 

यसैले विराटनगरको राजनीति सधैं सत्ताको वरिपरि घुमिरहेको मान्नेहरूको पनि कमि छैन। यतिबेला विराटनगरलाई स्थानीय निर्वाचनको रन्कोले तताएको छ। सोमबार विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) सहितका पदहरुको निर्वाचनका लागि सबै पार्टीले आ–आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गरेका छन्। 

तर, यी उम्मेदवार मध्ये सबैभन्दा चर्चाको पात्र बनेका छन्, नेपाली कांग्रेसका तर्फबाट मेयरका प्रत्यासी नागेश कोइराला। अन्य उम्मेदवारभन्दा उनको चर्चा चुलिनुमा धेरै कारण छन्। 

पहिलो त उनले वर्तमान मेयर भीम पराजुलीको लगातार दोस्रो कार्यकाल उम्मेदवार बन्ने लक्षलाई रोकेका छन्। अर्को, मोरङ कांग्रेसका पूर्व सभापति अमृत अर्यालको मेयर बन्ने इच्छामा पनि तगारो तेस्र्याईदिएका  छन्। पराजुली र अर्याल दुबै नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन्। पदीय हिसाबले आफूभन्दा बलिया सहपाठीबाट मेयर पदको टिकट फुत्काउनु चानचुने कुरा पक्कै होइन। यसमा पनि दुवै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय पात्र मानिन्छन्।

Nagesh pic 1
 
अहिले नागेशले मेयरको टिकट पाउनुमा नेता शेखर कोइरालाको आशिर्वादले ठूलै काम गरेको बुझिन्छ।। तर, उनी कोइराला परिवारको विरासत पछ्याउने पुस्तामा भने पर्दैनन्। विराटनगरवासीका लागि नागेश अपरिचित नाम होइन। नेपाली कांग्रेसमा उनको परिवार ४ पुस्तादेखि सक्रिय छ। तर, यो परिवारबाट चुनाव लड्ने पहिलो सदस्य हुन्, नागेश कोइराला। 

नागेशका जिजुबुवा दधिराम कोइराला पनि दुम्जाबाटै विराटनगर झरेका जानकार व्यक्तिहरु सम्झन्छन्। उनी नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालासँग निकट थिए। अझ, भन्नुपर्दा राणाकालमा कृष्णप्रसाद कोइरालाको उठिबास हुँदा भित्री रूपमा सहयोग गर्ने व्यक्तिमध्ये दधिराम पनि एक थिए। दधिरामका दुई छोरामध्ये जेठा नारायण कोइराला पञ्चायतकालमा नेपाली कांग्रेस प्रतिबन्धित हुँदा मोरङ जिल्लाको पार्टी सभापति थिए। अर्का छोरा ऋषिकेश कोइराला (हरिबाबु) ले साधकीपूर्ण जीवन बिताए। उनी विराटनगरमा कहलिएका बौद्धिक व्यक्ति थिए। त्यसैले पार्टी राजनीतिभन्दा पनि उनी शिक्षामा बढी रमाए। यद्यपि उनी गिरिजाप्रसाद कोइरालाका दौंतरी थिए। उनकै नाती हुन्, नागेश कोइराला। 

‘उहाँका पिताजीहरूले खासै पदको लाभ लिनुभएन। मोरङमा कांग्रेस टिकाउन आर्थिक सहयोग पनि गर्नुभयो,’ वडा नम्बर ९ का वर्तमान अध्यक्ष निश्चल अर्याल ‘भैयाजी’ बताउँछन्। 

नागेश २०४६ सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय छन्। नेपाली कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवाको प्रजातान्त्रिक कांग्रेसमा आवद्ध थिए। उनी त्यतिबेला प्रजातान्त्रिक कांग्रेसको तरुण जिल्ला अध्यक्षमा मनोनित भएका थिए। पार्टी एकीकरण भएपछि उनी मोरङ जिल्लाको कोषाध्यक्ष, सचिव हुँदै हाल उपाध्यक्ष पदमा कार्यरत छन्। 

उनको प्रारम्भिक शिक्षा कालिम्पोङको सेन्ट अगस्टिनमा भएको थियो। नागेशले फिलिपिन्सबाट एमबीए गरेका छन्। उनको बलियो पक्ष भनेको समाजसेवा हो। उनी समस्यामा परेर आफ्नो घर आउने कसैलाई खाली हात फर्किन दिँदैनन्। चाहे ती विपक्षी पार्टीका मानिस नै किन नहुन्। उनले मेयर पदको उम्मेदवारी दिने क्रममा धेरै लामो कुरा गरेनन्। तर, गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानी आफ्नो मूल एजेण्डामा रहेको बताएका छन्। 

कोइरालाले यसअघिका महानगर प्रमुख पराजुलीले कोरोना महामारीका कारण कार्यान्वयन गर्न नपाएका कतिपय योजनाहरु आफूले पूरा गर्ने अठोट गरेको सुनाए। दृश्य टिभीसँग आज बिहान कुरा गर्दै उनले सार्वजनिक विद्यालयहरुको भौतिक र शैक्षिक स्तर सुधार गरेर अत्यन्त न्यून आय भएका नागरिकका सन्तानलाई गुणस्तरीय शिक्षाको अवसर दिलाउने आफ्नो योजना रहेको बताए। महानगरका आवासविहीन नागरिकलाई न्यूनतम सुविधायुक्त बसोबासको प्रवन्ध गर्न आवश्यक देखिएको चर्चा गर्दै उनले बिराटनगरलाई गुणस्तरीय महानगर बनाउन चाहेको पनि सुनाए।

“राजनीति पेशा होइन यसलाई सेवाका रुपमा आत्मसाथ गरेर अगाडि बढ्नु पर्छ,” उनले सुनाए। पाँच वर्षभित्र विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउन आफू प्रतिबद्धत भएको कोइरालाको भनाइ छ। 
 

 
  

प्रतिक्रिया