बुन्डेसलिगा : बायर्नलाई दशौं सिजनको उपाधि

काठमाडौं– बायर्न म्युनिखले लगातार दशौं सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ।

शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले हराउँदै बायर्नले तीन खेल अगावै उपाधि जितेको हो।

बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार दशौं सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ। बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ।

घरेलु मैदानमा भएको खेलको १५औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए।

३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। ५२औं मिनेटमा इम्री क्यानले गोल गर्दै डर्टमण्डलाई २-१ को स्थितिमा ल्याए।

तर, ८३औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए। जितसँगै शीर्ष स्थानको बायर्नले ३१ खेलमा ७५ अंक जोडेको छ। दोस्रो स्थानको डर्टमण्डले ३१ खेलमा ६३ अंक जोडेको छ।

प्रतिक्रिया