जिम्बाबे ‘ए’ विरुद्धको सिरिज : विनोदको पुनरागमन, अटाएनन् ज्ञानेन्द्र र शरद

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबे ‘ए’ विरुद्धको तीन एकदिवसीय र तीन टी२० सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ।

शुक्रबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्। 

टोलीमा विकेट किपर विनोद भण्डारीले पुनारागमन गरेका छन्। यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने यो पटक पनि समेटिएका छैनन्।

उनीहरु गत चैतमा पपुवा न्यू गिनीविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्यूगिनी र मलेसियासहितको टी२०आई सिरिजमा पनि टोलीमा परेका थिएनन्।

चैतमा प्रशिक्षक पुबुदुले दुई फर्म्याटका लागि दुई फरक टोली घोषणा गरेका थिए। उनले पूर्वकप्तान मल्ल, भेषावाकर र विकेट किपर भण्डारीलाई दुवै फर्म्याट बाहिर राखेका थिए। 

उक्त सिरिजअघि मल्ल र भण्डारीलाई आराम चाहिएको कारण टोलीमा नसमेटेको प्रशिक्षक पुबुदुको भनाइ थियो। यता, भेषवाकर भने घाइते थिए। 

जिम्बाबे आईसीसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको तयारीमा रहेको छ। त्यसैले, नेपाल र दक्षिण अफ्रिकाको ‘ए’ टिमसँग सिरिज खेल्दै छ। दक्षिण अफ्रिकासँग सिरिज भने जिम्बाबे ११ ले घरेलु मैदानमा खेल्नेछ।

जिम्बाबेको टोली यही अप्रिल २८ मा नेपाल आउने क्यान कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए।

वैशाख १७ गतेदेखि एकदिवसीय सिरिज सुरु हुनेछ। जसमा पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो एकदिवसीय खेल २१ गते हुनेछ।

यस्तै, टी२० सिरिजअन्तर्गत पहिलो खेल वैशाख २३ गते हुनेछ भने दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ।

टेस्ट मान्यता प्राप्त देशको ‘ए’ टिम भएको हुनाले एकदिवसीय खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले लिस्ट ‘ए’को मान्यता दिनेछ।

No description available.

प्रतिक्रिया