‘मास्टर स्ट्राइकर’ धोनी

काठमाडौं– अन्तिम ओभर, एक छक्का, दुई चौका र तीन विकेटको जित।

बिहीबार राति सम्पन्न मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको यस खेल महेन्द्र सिंह धोनीका लागि सम्झनालायक हुनेछ। उनले अन्तिम बलमा चौका प्रहार गर्दै आफ्नो टोली चेन्नईलाई रोमाञ्चक जित दिलाएका थिए।

चेन्नईलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो र मुम्बईका लागि जयदेव उनाडकट बलिङ गर्न आएका थिए, जसविरुद्ध धोनीले ६,४,२,४ रन बनाएर आफ्नो टोलीलाई ३ विकेटको जित दिलाए। 

योसँगै मुम्बई इन्डियन्सको नाममा एक अनावश्यक कीर्तिमान बनेको छ। मुम्बई आईपीएलमा लगातार सात खेल हार्ने पहिलो टोली बनेको छ।

त्यसअघि ड्वेन प्रिटोरियसले पनि १४ बलमा २२ रन बनाएर धोनीलाई साथ दिए। उनले इनिङ्सको १९औं ओभरमा जसप्रित बुमराहविरुद्ध १६ रन लिएर खेललाई जीवित राखे। जयदेवले फाइनल ओभरको शानदार सुरुआत गरेका थिए। उनले प्रिटोरियसलाई योर्करमा बल दिए, तर त्यो मजमा धोनीले रन लुटे।

धोनीले ओभरको तेस्रो बललाई साइट स्क्रिनमा छक्का प्रहार गरे। त्यसपछि अर्को बललाई सर्ट फाइन लेगमा ४ रनमा पठाए। जयदेवले त्यसपछि योर्कर फ्याँके। त्यसपछि धोनीले डिप मिडविकेटको दायाँपट्टिको ग्यापमा पठाएर दुई रन लिए। जयदेवको अन्तिम बल योर्करको प्रयासमा फुल टस थियो। त्यसलाई धोनीले डिप फाइन लेग बाउन्ड्री बाहिर लगे र खेल जिताए। 

सन् २०१९ को आईपीएलमा पनि धोनीले जयदेवको एक ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए। जयदेव त्यतिबेला राजस्थान रोयल्सको टोलीमा थिए र धोनी चेन्नईको कप्तान थिए। त्यस खेलमा धोनीले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७५ रनको इनिङ्स खेलेका थिए।

जयदेवविरुद्ध धोनीले आईपीएलको ८ इनिङ्समा २४४.१८ को स्ट्राइक रेटमा १०५ रन बनाएका छन् र एक पटक मात्र आउट भएका छन्।

उत्कृष्ट लयमा धोनी
यस सिजनको पहिलो खेलमा धोनीले कोलकाता नाइट राइडर्सविरुद्ध ३८ बलमा अविजित ५० रनको इनिङ्स खेलेका थिए। आईपीएल २०२२ को ६ इनिङ्समा उनले ६० को औसतमा १२० रन बनाएका छन्। यस क्रममा उनी ४ पटक नटआउट पनि रहे।

चेन्नईको दोस्रो जित
चेन्नईको ७ खेलमा यो दोस्रो जित हो। टोलीले ५ खेलमा हार बेहोरेको छ। हाल अंक तालिकामा चेन्नई ४ अंकको साथ ९औं स्थानमा छ। योसँगै मुम्बईको यो लगातार सातौं हार हो। यो सिजन टोलीले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन। प्लेअफको दौडमा टिक्न मुम्बईले बाँकी सात खेल जित्नुपर्नेछ।

प्रतिक्रिया