कोपा इटालिया : उपाधिका लागि युभेन्टस र इन्टर मिलान भिड्ने 

काठमाडौं– कोपा इटालिया फुटबलको उपाधिका लागि युभेन्टस र इन्टर मिलान भिड्ने भएका छन्।

घरेलु मैदानमा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २-० गोलअन्तरको जित निकाल्दै युभेन्टसले फाइनलमा मिलानसँगको भेट पक्का गरेको हो।

दोस्रो लेगको जितसँगै युभेन्टसले समग्रमा ३-० गोल अन्तरको जित निकाल्यो। पहिलो लेगमा युभेन्टसले १-० गोल अन्तरको जित निकालेको थियो।

युभेन्टसलाई जित दिलाउन फेडेरिको बेर्नार्डेस्ची र डानिलोले एक एक गोल गरे। खेलको ३२औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्टसलाई २-० को जित दिलाए।

अब युभेन्टसले उपाधिका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै इन्टर फाइनलमा पुगेको थियो। 

यसअघि सेमिफाइनलको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।

प्रतिक्रिया