शोकमा रहेका रोनाल्डोप्रति समर्थकको सम्मान, गुञ्जियो ‘यू विल नेभर वाक अलोन’ 

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा मंगलबार राति सम्पन्न खेलमा उपाधि होडमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि ४–० को फराकिलो जित निकाल्यो।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा एकपक्षीय बनेको खेलमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले समान एक गोल गरे।

जितसँगै लिभरपुल ३२ खेलबाट ७६ अंकसहित शीर्ष स्थानमा उक्लियो। यता, पराजित युनाइटेडले चौथो स्थानको टोटेनहमसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। 

युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा यथावत् रहेको छ। तर, मंगलबार एनफिल्ड जितमा भन्दा शोकमा डुबेको थियो। खेलको सातौं मिनेटमा खेल हेर्न पुगेका दुवै टोलीका समर्थकहरुको तालि बजाउँदै शोक परेका पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पुत्रशोक प्रति श्रद्धाञ्जली दर्शाए। 

जर्सी नम्बर ७ का युनाइटेडका रोनाल्डो अघिल्लो दिनमात्र छोराको शोकमा परेका थिए। 

३७ वर्षे रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेज जुम्ल्याहा सन्तानको स्वागतको तयारीमा थिए। तर, छोरी मात्रै जीवित जन्मिएको रोनाल्डोले सोमबार इन्स्टाग्राममार्फत् जानकारी दिएका थिए।

समर्थकहरुले तालि बजाउँदै  ‘यू विल नेभर वाक अलोन’ भन्दै गाएका थिए। दुवै टोलीका खेलाडीले कालो आम ब्यान्ड लगाएका थिए। रोनाल्डोले भने लिभरपुलसँगको खेल गुमाए।

पुत्रशोकमा रहेका रोनाल्डोले लिभरपुलविरुद्धको खेल नखेल्ने घोषणा गरेका थिए। उक्त खेल भने घरेलु टोली लिभरपुलले आफ्नो पक्षमा पारेको थियो।

खेलको ५औं मिनेटमा नै लिभरपुलले अग्रता लिएको थियो। उसका लागि डियाजले गोल गरे। यस्तै, २२औं मिनेटमा सलाहले गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफ २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। खेलको ६८औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को आदामदायी जिततर्फ अगाडि बढाए।

यस्तै, ८५औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ४–० को सानदार जित दिलाए।

प्रतिक्रिया