युनाइटेडमाथि लिभरपुलको सानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं– उपाधि होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ। 

एनफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले युनाइटेडमाथि ४–० को जित निकालेको हो।

एकपक्षीय बनेको खेलमा लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले समान एक गोल गरे।

खेलको ५औं मिनेटमा नै लिभरपुलले अग्रता लिएको थियो। उसका लागि डियाजले गोल गरे। यस्तै, २२औं मिनेटमा सलाहले गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफ २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। खेलको ६८औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को आदामदायी जिततर्फ अगाडि बढाए।

यस्तै, ८५औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ४–० को सानदार जित दिलाए।

जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ।

यता, पराजित युनाइटेडले चौथो स्थानको टोटेनहमसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा यथावत् रहेको छ।

प्रतिक्रिया