भेट्रान फुटबलको उपाधि ‘सङ्गम बी’ लाई

पोखरा । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रथम ‘नाइन ए साइड राष्ट्रिय भेट्रान’ फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली ‘सङ्गम बी’ले जितेको छ ।

यही वैशाख २ गतेदेखि पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको मंगलाबार सम्पन्न फाइनल खेलमा काठमाडौँको सानो गौचरनाईं ३–० गोल अन्तरले पराजित गरी पोखरा बाँझापाटनको सङ्गम च्याम्पियन बनेको हो । सङ्गमले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेपछि उपाधि निश्चित भएको हो ।

च्याम्पियन सङ्गमले उपाधिसहित ट्रफी, मेडल र नगद तीन लाख पुरस्कार प्राप्त गर्यो भने उपविजेता सानो गौचरनले पुरस्कार ट्रफी, मेडल र एक लाख ५० हजार पायो । सङ्गमका लालबहादुर खत्रीले खेलको २०औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता बनाएका थिए । यस्तै विजय गुरुङले ३२औँ र सञ्जय गुरुङले ३७औँ मिनेटमा गोल गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि सङ्गमका विजय गुरुङ घोषित भए । उनले २० हजार पुरस्कार पाए । यसैगरी उत्कृष्ट गोलकिपर सङ्गमका खिमबहादुर गुरुङ, डिफेण्डर सङ्गमकै विश्वलाल श्रेष्ठ, मिडफिल्डर सङ्गमका महेन्द्र गुरुङ र स्ट्राइकर सानौ गौचरनका शुक्र तामाङ घोषित भए । उनीहरुले जनही १५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा समान चार/चार गोल गरेका बगर भाइखलका मनोज गुरुङ र सङ्गमका नरेन्द्रजङ्ग गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीलगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा ४० वर्षदेखी ६० वर्ष उमेर समूहका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया