रोनाल्डो दम्पत्तीको छोराको मृत्यु

काठमाडौं– पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो छोराको मृत्यु भएको जानकारी दिएका छन्।

३७ वर्षे रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेज जुम्ल्याहा सन्तानको स्वागतको तयारीमा थिए। तर, छोरी मात्रै जीवित जन्मिएको रोनाल्डोले सोमबार इन्स्टाग्राममार्फत् जानकारी दिएका छन्।

‘गहिरो दुःखको साथ हाम्रो बच्चाको मृत्यु भएको घोषणा गर्न चाहन्छौं,’ रोनाल्डोले लेखेका छन्।

रोनाल्डो र रोड्रिग्वेजले यसअघि अक्टुबरमा बा–आमा बन्ने घोषणा गरेका थिए। सन्तानको निधन कुनै पनि अभिभावकका लागि गम्भीर दुःखको कुरा रहेको रोनाल्डोले बताएका छन्।

‘छोरीको जन्मले हामीलाई यो समयमा बाँच्नका लागि आश र खुशी प्रदान गरेको छ,’  रोनाल्डोले लेखेका छन्, ‘हाम्रो छोरा, तिमी हाम्रो एन्जल हौ। हामी सधैं तिमीलाई माया गरिरहने छौं।’

रोनाल्डो २०१० मा पहिलो पटक बुबा बनेका थिए। तर, क्रिस्टियानो जुनियरको आमाको पहिचान को हुन कहिल्यै बताएनन्।

रोनाल्डोका अहिले जन्मेका बाहेक चार बच्चा छन्। ११ वर्षीय क्रिस्टियानो जुनियर, चार वर्षका जुम्ल्याहा मारिया र मेटियो र तीन वर्षीया छोरी अलाना मार्टिना उनका चार बच्चा हुन्।

प्रतिक्रिया