भेट्रान राष्ट्रिय फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

पोखरा । पोखराको संगम बी र काठमाडौँको सानो गौचरनले पोखरामा जारी ‘नाइन ए साइड राष्ट्रिय भेट्रान’ फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा यही वैशाख २ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न सेमिफाइनल खेलमा पोखराको संगमले घरेलु टोली बगर भाइखलकलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसैगरी सानो गौचरनले चितवन भेट्रानलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

पहिलो सेमिफाइनल खेलमा संगम बीले बगर भाइखलकलाई ३–१ गोल गर्न सफल भयो । संगमका लागि ‘प्लेयर अफ दि म्याच’ नरेन्द्रजङ्ग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गरे । बगर भाइखलकका लागि मनोज गुरुङले एक गोल फर्काए ।

यसैगरी दोस्रो सेमिफाइनलमा शुक्र तामाङको दुई गोलमा सानो गौचरनले चितवन भेट्रानमाथि ३–० ले पन्छाउँदै फाइनल सुरक्षित बनायो । तेजबहादुर गलामीले २२औँ मिनेटमा गोल गर्दै दिलाएको अग्रतामा शुक्रले ३८ र ४९औँ मिनेटमा थप दुई गोल गर्दै संगमसँग उपाधि प्रतिस्पर्धा निश्चित बनाए । उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

प्रतियोगिताको फाइनल खेल मङ्गलबार हुने खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए । प्रतियोगितामा विजेता टोलीले नगद तीन लाख राशिसहित ट्रफी प्राप्त गर्ने छ ।

उपविजेताले एक लाख ५० हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट स्ट्राइकर, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर र गोलकिपरले जनही १५ हजार प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया