ला लिगा : एट्लेटिकोको महत्त्वपूर्ण जित

काठमाडौं– इन्ज्युरी समयमा यान्निक कारास्कोको पेनाल्टी गोलमार्फत् एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा महत्वपूर्ण जित निकालेको छ।

वान्डा मेट्रो पोलिटानोमा आइतबार भएको खेलमा १० खेलाडीमा समेटिएको  घरेलु टोली एट्लेटिकोले स्पान्योलमाथि २–१ को जित निकालेको हो।

एट्लेटिकोको जितमा दुवै गोल यान्निक कारास्कोले गर्दा स्पान्योलका राहुल दि थोमसले एक गोल फर्काए। खेलको ५२औं मिनेटमा कारास्कोको गोलबाट घरेलु टोलीले सुरुआती अग्रता लिएको थियो। 

७१औं मिनेटमा जियोफ्रे कोन्डोगविया दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको समस्यामा परेको थियो। डार्डेरको २५ यार्डको प्रहारलाई बचाउने क्रममा जियोफ्रे कोन्डोगविया हातले बल छुन पुगेपछि रेफ्रीले दोहोरो पहेलो कार्ड देखाए। त्यसमै प्राप्त फ्रिकिकमा राहुलले ७४औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा एट्लेटिको पेनाल्टी पायो। दोस्रो हाफको अतिरिक्त समयमा राहुलले हातले बल छुन पुगेपछि रेफ्रीले भीएआरको सहायता लिदै एट्लेटिकोलाई पेनाल्टी प्रदान गरेको थियो।

जसलाई यान्निक कारास्कोले गोलमा परिणत गरे। जितसँगै एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको सेभियासँगको अंक बराबरी गरेको छ। तीन टोलीको समान ६० अंक रहेको छ। बार्सिलोनाले दुई तथा सेभियाले एक खेल कम खेलेको छ। स्पान्योल ३९ अंक जोडेर ११औं स्थानमा रहेको छ।

प्रतिक्रिया