आईपीएल : गुजरातसँग चेन्नई ३ विकेटले पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा गुजरातले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो।

चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। गुजरातको लागि डेभिड मिलर सर्वाधिक ९४ रनमा अविजित रहे। उनले ५१ लमा ८ चौका र ६ छक्का प्रहार गरे। यता, राशिद खानले २१ बलमा २ चौका र ३ छक्कासहित ४० रन बनाए।

यता, अभिनव मनोहरले १२ र विद्धिमान साहले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। चेन्नईका लागि ड्वेन ब्राभोले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चिएर ३ विकेट लिए।

महेश थेक्षानाले २ जिकेट लिँदा मुकेश चौधरी र रविन्द्र जडेजाले १/१ विकेट हात पारे।
त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६९ रन बनायो।

चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए। उनले ४८ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। अम्बाती रायुडू र गायकवाडले तेस्रो विकेटका लागि ५६ बलमा ९२ रनको साझेदारी गरेका थिए।

रायुडू ३१ बलमा ४ चौका र २ छक्कासहित ४६ रनमा आउट भए। यता, कप्तान रविन्द्र जडेजाले २२ र शिवम दुबेले १९ रन बनाए। ओपनर रोबिन उथप्पा ३ रनमा एलबीडब्लू र मोईन अली १ रनमा बोल्ड भए।

गुजरातका अल्जारी जोशेफले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। मोहम्मद शामी र यश दयालले १/१ विकेट लिए। 

जितसँगै शीर्ष स्थानमा रहेको गुजरातको ६ खेलबाट १० अंक पुगेको छ। दोस्रो स्थानको लखनऊ सुपर जायन्ट, तेस्रो स्थानको रोयल च्यालेन्जर बैंग्लोर र चौथो स्थानको सनराइजर्स हैदराबादको समान ८/८ अंक छ। 

पराजित चेन्नई समान ६ खेलबाट २ अंक जोड्दै अंक तालिकाको ९औं स्थानमा छ।

प्रतिक्रिया