इलाममा भत्कियो सत्तारुढ गठबन्धनको संयन्त्र, संयोजकले नै दिए राजीनामा

रोहितचन्द्र भट्टराई, इलाम । इलाममा सत्तारुढ दलहरुले बनाएको स्थानीय तहको निर्वाचनका लागि जिल्लास्तरीय गठबन्धनको संयन्त्र भत्किएको छ ।

इलाममा गठबन्धनको संयोजकका रुपमा मानिँदै आएका नेपाली काङ्ग्रेसका महासमिति सदस्य बेनुपराज प्रसाईले आइतबार जिल्ला कार्यसमितिसमक्ष राजीनामा दिएपछि इलाममा गठबन्धनको भविष्य अन्यौल भएको हो । विशेषगरी काङ्ग्रेसका आकांक्षी र कार्यकर्ताको भावनाअनुरुप काम गर्न नसकेपछि प्रसाईले गठबन्धन संयन्त्र छाडेको बुझिएको छ ।

उनले आफू र जिल्ला सभापति डम्बर खड्का प्यानलमा भएका आकांक्षी र कार्यकर्तालाई मात्र उम्मेदवारमा समेट्न खोजेको तथा आम कार्यकर्ताको भावनाविपरित अन्य दलहरुसँग पद बाँडफाँट गर्न खोजेको आरोप लगाएर कार्यकर्ताले बिरोध जनाएपछि राजीनामा दिएका हुन् । यो घटनासँगसँगै अब काङ्ग्रेसले सबै स्थानीय तहमा स्थानीय तहकै पार्टी संयन्त्रबाट आफ्ना उम्मेदवार तय गर्ने सम्भावना पनि बढेको छ ।

गठबन्धनको केन्द्रीय संयन्त्रको निर्णय र पार्टीको केन्द्रीय समितिको निर्देशनबमोजिम गठबन्धनका  तर्फबाट। इलाममा आठ स्थानीय तहका प्रमुखमा काङ्ग्रेस र दुई तहको प्रमुखमा नेकपा एकीकृत समाजवादी (एस)को भागमा पर्छ । तर प्रसाई नेतृत्वले गठबन्धनका अन्य दललाई पनि अरु पालिकाको प्रमुख दिन खोजेको आरोप कार्यकर्ताको छ ।

गठबन्धन लगभग नहुने सम्भावना बढेको नेकपा(एकीकृत समाजवादी) का कार्यालय सचिव एमबी गुरुङले पनि बताए । उनले भने, ‘हामी त्यही विषयमा बैठक बसिरहेका छौँ । गठबन्धन नहुने सम्भावना बढेको साथीहरुले भन्दै हुनुहुन्छ । अब के हुन्छ भन्ने कुरा बैठक सकिएपछि मात्र भन्न सक्छु ।’

यता नेकपा माओवादी केन्द्रका तर्फबाट गठबन्धन संयन्त्रमा सहभागी जिल्ला अध्यक्ष विजय खम्बुले भने गठबन्धन टुट्ने कुरा आफूलाई थाहा नभएको बताए ।

संयन्त्रका संयोजक प्रसाइको राजीनामालाई व्यक्तिगत र काङ्ग्रेसको आन्तरिक कुरा भएको बताउँदै अध्यक्ष खम्बुले अगाडि भने,‘यो वहाँको व्यक्तिगत कुरा हो । काङ्ग्रेसले हामीलाई संस्थागत रुपमा कुनै जानकारी गराएको छैन । गठबन्धनको बैठकहरु चलिरहेको र यसले मुर्त रुप दिने कुरामा म विश्वास गर्छु ।’

benup

प्रतिक्रिया