प्रिमियर लिग : रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित, आर्सनल र टोटेनहम पराजित

काठमाडौं– फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा युनाइटेडले रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि ३–२ को निकालेको हो।

खेलको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए। ३२औं मिनेटमा रोनाल्डोले एलेक्स टेलासको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा काइरन डोवेलले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए। ५२औं मिनेटमा टिमु पुकीले गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक मोडमा ल्याए।

बराबरीतर्फ धकेलिएको खेलको ७६औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा  गोल गर्दै ह्याट्रिक पूरा गरे।

जितसँगै युनाइटेड ३२ खेलबाट ५४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। पराजित नर्विच ३२ खेलबाट २१ अंक जोडेर रेलिगेसन जोनको पुछारमा रहेको छ।

सेन्ट मेरिज स्टेडियम शनिबार राति नै भएको अर्को खेलमा लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल साउथह्याम्टनसँग १–० पराजित भएको छ। घरेलु टोलीको जितमा पहिलो हाफमा जान बेडेनारकले गरेको गोल नै निर्णायक बन्यो। उनले ४४औं मिनेटमा मोहम्मेद इलयुनोउसीको पासमा गोल गर्न सफल भएका थिए।

यो हारसँगै आर्सनल ३१ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा झरेको छ। साउथह्याम्टन ३९ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ।

प्रिमियर लिगकै अर्काे खेलमा टोटेनहम घरेलु मैदानमै ब्राइटनसँग १–० ले पराजित भएको छ। खेलको इन्ज्युरी समयमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै टोटेनहमलाई स्तब्ध पारे।

यो हारसँगै चौथो स्थानमा रहेको टोटेनहमले तेस्रो स्थानको चेल्सीसँगको अंक दुरी छोट्याउने अवसर गुमाएको छ। टोटेनहम ३२ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ। टोटेनहमलाई हराएको ब्राइटन ४० अंक जोडेर १०औं स्थानमा रहेको छ।

शनिबार नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध नर्विच सिटी (३–२) र वाट्फोर्डविरुद्ध ब्रेन्टफर्ड (१–२) नतिजा निकालेको थियो।

प्रतिक्रिया