लिभरपुल १० वर्षपछि एफए कपको फाइनलमा 

काठमाडौं– म्यानचेस्टर सिटीमाथि जित निकाल्दै लिभरपुल १० वर्षपछि एफए कपको फाइनलमा प्रवेश गरेको छ।

वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुलले सिटीलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

७ पटकको च्याम्पियन लिभरपुल सन् २०१२ पछि एफए कपको फाइनलमा प्रवेश गरेको हो। लिभरपुलको जितमा साडियो मानेले दुई तथा इब्राहिमा कोनाटले एक गोल गरे। सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काए।

खेलको नवौं मिनेटमा कोनाटको गोलबाट लिभरपुलले सुरुआती अग्रता लिएको थियो। १७औं मिनेटमा मानेले गोल गदै लिभरपुलको अग्रता दोब्बर पारे।

४५औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई पहिलो हाफमै ३–० को अग्रता दिलाए। 

४७औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीलाई खेलमा फर्कने संकेत दिए। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी भयो।

अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग १४ मेमा खेल्ने छ। चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आइतबार राति हुँदैछ।

प्रतिक्रिया