आईपीएल : दिल्लीलाई हराउँदै बेंगलोर तेस्रो स्थानमा

काठमाडौं– रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको बेंगलोर चौथो जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको हो।

बेंगलोर ६ खेलमा ४ जित र २ हारसहित तेस्रो स्थानमा छ। दिल्ली ५ खेलमा २ जित र ३ हारसहित आठौं स्थानमा छ। 

१ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनायो। दिल्लीका ओपनर डेविड वार्नरले सर्वाधिक ६६ रन बनाए। उनले ३८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।

दिल्लीलाई ओपनर पृथ्वी शा र वार्नरले पहिलो विकेटका लागि ४.४ ओभरमा ५० रन जोड्दै राम्रो सुरुआत दिलाए। शा १६ रनमा आउट भए। 

कप्तान ऋषव पन्त १७ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा आउट भए। मिचेल मार्श २४ बल खेल्दै १४ रनमा रन आउट भए। रोभम्यान पावेल गोल्डेन डक आउट भए। ललित यादव १ रनमा आउट भए।

अक्षर पटेल र कुलदिप यादवले समान १०/१० रन जोडे। 

बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। मोहम्मद शिराजले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो। बेंगलोरका विकेटकिपर दीनेश कार्तिकले ६६ रनको उत्कृष्ट अविजित इनिङ्स खेले। उनले ३४ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।

ग्लेन म्याक्सवेलले ३४ बलमा ७ चौका र २ छक्कासहित ५५ रन बनाए। शहबाज अहमद २१ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे। छैटौं विकेटका लागि शहबाज र दीनेशले ५२ बलमा ९७ रनको अविजित साझेदारी गरेका थिए।

विराट कोहलीले १२ रन बनाए। दिल्लीका शार्दुल ठाकुर, कुलदीप यादव, खलिल अहमद र अक्षर पटेलले १-१ विकेट लिए। दिल्लीले अब बुधबार पन्जाब किंग्ससँग खेल्नेछ। बेंगलोरले मंगलबार लखनऊ सुपर जायन्ट्सँग खेल्नेछ। 

प्रतिक्रिया