एएफसी एसिया कप छनोट : आजबाट फुटबल टोलीको प्रशिक्षण

काठमाडौं– आसन्न एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज (शुक्रबार)बाट नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोलीले आज बिहान ९ बजेदेखि १०ः३० बजेसम्म दशरथ रंगशालामा प्रशिक्षण गर्नेछ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाएका छन्। 

प्रारम्भिक टोलीको घोषणा हुँदा नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल बाहिरिएका थिए। उनलाई पनि समेटिएको छ।

यस्तै, फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पुनरागमन गरेका छन्। आर्मीका खेलाडीद्वय नवयुग र विकास चोटका कारण पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए।

यसअघि यसै प्रतियोगिताका लागि एन्फाले थाइल्यान्डमा दुई मैत्रीपूर्ण फुटबल खेल खेलाएको थियो। तर, दुवै खेलमा नेपाल पराजित भएको थियो। 

नेपाल छनोटमा समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली छन्।

यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन्।

नेपाली टोलीः
गोलकिपरः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
रक्षक: अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी, 
मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
स्ट्राइकरः विमल घर्तिमगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ

प्रतिक्रिया