युरोपा लिग : बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरियो, फ्रान्कफुर्ट र वेष्ट ह्याम सेमिफाइनलमा

काठमाडौं– जर्मन क्लब फ्रान्कफुर्ट युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति क्याम्प नउमा सम्पन्न क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ३–२ ले पराजित गर्दै फ्रान्कफुर्ट सेमिफाइनलमा पुगेको हो। 

पहिलो लेगमा १–१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ४–३ ले पराजित भयो। फ्रान्कफुर्टलाई जित दिलाउन फिलिप कोस्टिकले दुई गोल गरे। राफेल सान्तोसले एक गोल थपे।

बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एक एक गोल फर्काए। खेलको चौथौ मिनेटमै फ्रान्कफुर्टले कोस्टिकको गोलमार्फत् अग्रता लिएको थियो। यस्तै, ३६औं मिनेटमा सन्तोसले अग्रता दोब्बर बनाए। 

पहिलो हाफ २ गोल भएको खेलको दोस्रो हाफमा थप तीन गोल भएका थिए। खेलको ६७औं मिनेटमा कोस्टिकले गोल गर्दै अग्रता ३–० मा पुर्‍याए।

दोस्रो हाफको अतिरिक्त समयमा बुस्केट्सले गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए। यस्तै, खेलको १००औं मिनेटमा फ्रान्कफुर्ट १० खेलाडीमा समेटियो। इभान एनडीकाले फ्रेन्की डी जोङलाई डि बक्समा लडाएपछि रेफ्रीले रातो कार्ड देखाएका थिए। 

उक्त पेनाल्टीलाई डिपेले गोलमा परिणत गरेपनि बार्सिलोना समग्रमा ४–३ ले पराजित भयो। 

बिहीबार राति नै भएका अन्य खेलमा लियोनलाई ३–० ले पराजित गरेको वेष्ट ह्याम समग्रमा ४–१ को जितसहित सेमिफाइनलमा पुगेको छ।

यता, स्पोर्टिङ ब्रागलाई ३–१ ले पराजित गरेको रेन्जर्स समग्रमा ३–२ तथा एट्लान्टालाई २–० ले पराजित गरेको आरबी लेइप्जिग समग्रमा ३–१ को जितसहित अन्तिम चारमा स्थान बनाउन सफल छन्।

प्रतिक्रिया