आईपीएल : अंकतालिकाको शीर्ष स्थानमा उक्लियो गुजरात

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले जित हात पारेको छ। जितसँगै नवप्रवेशी टोली गुजरात प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। 

मुम्बईमा बिहीबार राति सम्पन्न खेलमा गुजरातले राजस्थान रोयल्सलाई ३७ रनले हराएको हो। गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रनमा समेटियो।

राजस्थानका लागि जोश बट्लरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। शिम्रन हिटमायरले २९ तथा रियान परागले १८ रन जोडे। गुजरातका लकी फर्गुसन र यश डायलले समान ३÷३ विकेट लिए।

त्यसअघि डीवाई पाटिल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन जोडेको थियो।

गुजरातका लागि कप्तान हार्दिक पाण्डयले अविजित ८७ रनको बनाए भने  अभिनव मनोहरले ४३ रन जोडे। राजस्थानका कुलदिप सेन, युजभेन्द्र चाहल र रियान परागले समान १/१ विकेट लिए।

यस जितसँगै ५ खेलबाट ८ अंक जोडेको गुजरात अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। पराजित राजस्थान ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया