सिटी र लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै सिटी समग्रमा १-० को जितसहित अन्तिम चारमा पुगेको हो।

घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको सिटीले १-० को जित निकालेको थियो। एट्लेटिकोको मैदानमा भएको दोस्रो लेगमा भने दुवै टोलीले गोल गर्न सकेनन्। 

खेलको इन्ज्युरी समयमा फिलिपेले दोहोरो पहेलो कार्डसँगै रातो कार्ड पाएका थिए। अब सिटीले सेमिफाइनलमा स्पेनकै रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।

अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरी खेलेको लिभरपुल समग्रमा जित ६-४ को जित निकाल्दै अन्तिम चारमा पुगेको छ।

पहिलो लेगमा लिभरपुलले ३-१ को जित निकालेको थियो। दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले दुई गोल गरे। २१औं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए।

३२औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई खेलमा फर्काए।

५५औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए। ६५औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए। ७३ औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दा बेन्फिका ३-२ को स्थितिमा आयो।

त्यसपछि खेलको ८१औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकिएको थियो। अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ।

प्रतिक्रिया