आईपीएल : मुम्बईको लगातार पाँचौ हार

काठमाडौं– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पन्जाब किंग्ससँग १२ रनले पराजित भएको छ। मुम्बईको जारी सिजनमा लगातार यो पाँचौं हार हो।

१ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो। मुम्बईका डेवाल्ड ब्रेभिसले ४९ रनको विष्फोटक इनिङ्स खेले टोलीको हार टार्न सकेनन्। उनले २५ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।

यता, सूर्यकुमार यादवले ३० बलमा १ चौका र ४ छक्कासहित ४३ रन बनाए। तिलक बर्माले ३६ रन जोडे भने कप्तान रोहित शर्मा २८ रन बनाएर आउट भए।

मुम्बईलाई सस्तैमा समेट्न पन्जाबका ओडिन स्मिथले सर्वाधिक ४ विकेट लिए। यता, कागिसो राबडाले २ विकेट लिए।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो। पन्जाबका ओपनर शिखर धवनले  सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

कप्तान मायांक अग्रवालले ५२ रनको अर्धशतकीय इनिङ खेले। अग्रवालले ३२ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

पन्जाबलाई ओपनर अग्रवाल र धवनले पहिलो विकेटका लागि ९.३ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। 

जितेश शर्मा अविजित ३०, साहरुख खानले १५ तथा जोनी बेयर्स्टोले १२ रन बनाए। मुम्बईका बसिल थाम्पीले २ विकेट लिए। जयदेव उनाकड, जस्प्रित बुम्राह र मुरुगान आश्विनले १र१ विकेट लिए।

जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ। पन्जाब तेस्रो स्थानमा उक्लिएको छ। पुछारमा रहेको मुम्बई ५ खेलमा अंकबिहीन छ। 

प्रतिक्रिया